वैशाख १८ २०८३, शुक्रबार

थालिएका काम समयमा सम्पन्न गर्ने कुरामा जोड दिन प्रधानमन्त्रीबाट भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन

थालिएका काम समयमा सम्पन्न गर्ने कुरामा जोड दिन प्रधानमन्त्रीबाट भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन थालिएका काम समयमा सम्पन्न गर्ने कुरामा जोड दिन प्रधानमन्त्रीबाट भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन
Ads

 


२१ भदौ(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभावका आधारमा तोड्नुपर्ने ठेक्का नतोड्ने र नतोड्नुपर्ने ठेक्का तोड्ने काम नगर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
सो मन्त्रालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले विधि र कानुनभन्दा दायाँबायाँ नगर्न निर्देशन दिनुभएको हो । 
‘अहिले तोड्नपर्ने ठेक्का तोड्न सकिएको छैन । नतोड्नुपर्ने ठेक्का तोडिएको छ । हामीले हुनुपर्ने कामलाई अनावश्यकरूपमा अल्झाउन दिनु हुँदैन । सबैसँग कानुनसम्मत रूपमा सबैलाई समान व्यवहार हुनुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो– हामीले यो, ऊ भनेर हेर्ने होइन, समयमा गुणस्तरीय विकासका काम हुनुपर्छ । समय थपेर पनि हुनै नसक्ने काम वा ठेकेदार छ भने जो सुकै भए पनि ठेक्का तोड्नतिर लाग्नुपर्छ । नियमन र अनुगमनका काम प्रभावकारी हुनुपर्छ ।
प्रधानमन्त्री ओलीले सवारी साधनको इम्बोष्ट नम्बर प्लेट उत्पादन र जडानका लागि भएको सम्झौतापछिका कार्यप्रगतिबारे अध्ययन गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो । 
यातायात व्यवस्था विभाग र डेकाटुर आइडी कम्पनीबीच २०७३ सालमा सवारी साधनमा चिप्ससहितको मेशिन आरएफआइ रिड गर्न मिल्ने प्रविधिसहित जडान गर्ने सम्झौता भएको थियो । सम्झौता बमोजिम पहिलो चरणमा २५ लाख इम्बोष्ट नम्बर प्लेट उत्पादन हुनुपर्नेमा हालसम्म पाँच लाख मात्र उत्पादन भएको मन्त्रालयले जनाएको छ । उक्त इम्बोष्ट नम्बर प्लेट अङ्ग्रेजी भाषामा हुने गरी सम्झौता भएकामा अब कुन भाषामा छाप्ने भन्ने निर्णय नेपाल सरकारबाट हुनुपर्ने मन्त्रालयको प्रस्ताव छ ।
यस्तै सवारी चालक अनुमतिपत्रको ट्रायल पास गरी राजस्व तिरेर बसेका स्मार्ट कार्ड पाउन बाँकी २० लाख सेवाग्राही रहेको प्रधानमन्त्रीलाई जानकारी  गराइएको छ । 
जर्मनीको मुहल्बर कम्पनीबाट ठेक्का सम्झौता बमोजिम प्राप्त १२ लाख थान स्मार्ट कार्डलाई भारतको मद्रास कम्पनीबाट मास प्रिन्टर छपाइ गर्नुपर्ने बाध्यता सरकारसँग रहेको छ । 
हाल एउटा मात्र मास प्रिन्टर मेशिन रहेको छ भने अर्काे मेशिन खरिदका लागि ठेक्का हुन नसकेको र मेशिन चलाउने जनशक्तिको अभाव रहेको ब्रिफिङमा जनाइएको छ ।
प्रधानमन्त्री ओलीले रेलवे विकास आयोजनामा सडकको अधिकार क्षेत्र यकिन गरी दिनुपर्ने मुअब्जा दिन र पानीजहाजका कामलाई अगाडि बढाउन आग्रह गर्दै पानीजहाजलाई सीमापार सञ्चालनका लागि छिमेकी मुलुकले आवश्यक ठाउँ दिनुपर्ने बताउनुभयो । 
प्रधानमन्त्री ओलीले हाल आर्थिक स्थिति कमजोर भएकाले नयाँ कामको थालनी नगरी शुरू भएका आयोजनालाई सम्पन्न गर्न ध्यान दिन आग्रह गर्नुभयो । 
प्रधानमन्त्री ओलीसमक्ष मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा, मातहतका निकायका प्रमुखहरूले विद्यमान अवस्था, चुनौती र सुधारका योजनाबारे जानकारी गराउनुभएको थियो ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार