वैशाख १८ २०८३, शुक्रबार

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार एसईईको ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण भएका छन् ।
Ads

 

परीक्षामा दुई लाख १० हजार ३ सय २१ जना सहभागी थिए । जसमध्ये एक लाख १९ हजार ४ सय २५ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागीमध्ये ९० हजार ८ सय ८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् ।

Ads

बोर्डका अनुसार जीपीए ३ दशमलव ६१ देखि ४ सम्म १८ जनाले ल्याएका छन् । जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म एक हजार ५ सय १८ जनाले ल्याएका छन् । त्यस्तै जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म २३ हजार ६ सय २३ जनाले ल्याएका छन् ।

जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० सम्म ७४ हजार ४ सय ६० जनाले ल्याएका बोर्डले जनाएको छ । बोर्डका अनुसार जीपीए १ दशमलव ६० देखि २ सम्म भने ६४ जनाले मात्रै ल्याएका छन् । २०८० सालको एसईईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए ।

Ads

यसअघि असारमा सार्वजनिक भएको एसईईको नतिजामा आधाभन्दा कम ४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । ५० प्रतिशतभन्दा धेरै परीक्षार्थी अनुत्तीर्ण भएर कक्षा ११ मा भर्ना हुन वञ्चित हुने भएपछि तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको निर्देशनमा यसवर्ष अनुत्तीर्ण सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय भएको थियो ।

ग्रेडवृद्धि परीक्षामा उत्तिर्ण विद्यार्थीले दशैँअघि नै कक्षा ११ मा भर्ना हुने मौका पाएका छन् । उनीहरूले नियमित विद्यार्थीभन्दा दुई महिना ढिलो गरी भर्ना हुन सक्ने भएका हुन् । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार