प्याब्सनका अधिकांश पदक ठुला विद्यालयको पोल्टामा, सानालाई चुनौती
गौरादह नगर प्याब्सनको आयोजनामा गोल्डेन सनराइज मावि परिसरमा मंसिर १९ र २० गते भव्य सांगीतिक तथा सांस्कृतिक महोत्सव सम्पन्न भएको छ। कार्यक्रममा नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरूको गायन, नृत्य र सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई रंगीन बनाएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख छत्रपति सुवेदीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयस्तरीय अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीको सिर्जनात्मकता, अनुशासन र राष्ट्रिय विविधताको ज्ञानलाई अभिवृद्धि गर्ने बताए।
विशिष्ट अतिथिका रूपमा प्याब्सन झापा अध्यक्ष गौरिमान फाँगो, नगर प्रवक्ता तथा गौरादह वडा नं. १ का अध्यक्ष नगेन्द्र भण्डारी, विभिन्न तहका प्याब्सन पदाधिकारीहरू र विद्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो।
प्रतियोगिताका नतिजा
जुनियर गायन विधा
प्रथम: माउन्ट एभरेस्ट मावि
द्वितीय: दामुना विद्या मन्दिर
तेस्रो: ज्ञानज्योति मावि
सान्त्वना: गोल्डेन सनराइज मावि
सिनियर गायन विधा
प्रथम: ज्ञानज्योति मावि
द्वितीय: गोल्डेन सनराइज मावि
तेस्रो: वैगुनधुरा मावि
सान्त्वना: भानुभक्त एकेडेमी
राष्ट्रिय गीत नृत्य
प्रथम: माउन्ट एभरेस्ट
द्वितीय: गोल्डेन सनराइज
तेस्रो: न्यु भिजन
सान्त्वना: विद्य्योदय मावि
आधुनिक नृत्य
प्रथम: ज्ञानज्योति मावि
द्वितीय: इमिनेन्ट कञ्चनजंघा
तेस्रो: गोल्डेन सनराइज र सूरज शिक्षा
सान्त्वना: न्यु भिजन
सांस्कृतिक नृत्य
प्रथम: गोल्डेन सनराइज
द्वितीय: वैगुनधुरा
तेस्रो: माउन्ट एभरेस्ट
कार्यक्रममा प्रस्तुत गरिएका हरेक विधाहरुमा प्रायः नगर क्षेत्रका ठुला विद्यालयकै पोल्टामा गएको देखिन्छ । पछिल्लो समय प्याब्सनका हरेक प्रतिस्पर्धात्मक कार्यक्रममा साना विद्यालय ओझेल पर्दै जानुमा अतिरिक्त क्रियाकलापमा हुने लागत खर्च बढ्दै जानू नै प्रमुख कारण भएको सरोकारवालाहरु बताउछन् । नृत्य सिकाउने अनुभवी कोरियोग्राफरको आवश्यकताले खर्च लागत बढाएको देखाउछ भने अर्कोतिर सांस्कृतिक विविधतामा प्रयोग हुने पोशाक तथा गहनाहरु समेत निकै महंगो हुने गरेको पाइन्छ । भड्किलो खर्च कटौती गर्दै सामान्य ढंगका नृत्य मात्रै प्रस्तुत गर्नुपर्ने माग एकातिर छ भने अर्कोतिर आवश्यक भएका विषयलाई समय सापेक्ष प्रयोगमा ल्याउनैपर्ने समेत चर्चा हुने गरेको पाइन्छ । यस सन्दर्भमा नृत्य निर्देशक सरस्वती गौतमको भनाइ छुट्टै छ । उनी भन्छिन् , 'आफ्नो क्षेत्रको रैथाने संस्कृति र परम्परा झल्किने प्रस्तुतिले सबै क्षेत्रको सम्मान हुन्छ र भाषा संस्कृतिको विकासमा यसले अतुलनीय प्रगति गराउछ । उनी प्रश्न गर्छिन् , कोशी प्रदेश भित्र आयोजना गरिने नृत्य प्रतियोगितामा सुदुर पश्चिमको गित किन छनौट गर्ने?' यसले स्थानीय संस्कृतिको खोज र अनुसन्धानलाई अवरोध गर्ने उनको तर्क छ । त्यस्तै नृत्य निर्देशक प्रेम राई भन्छन् - म प्याब्सनको हरेक नृत्य प्रतियोगितामा पुग्छु, कोरियोग्राफरले तयार पारेको नृत्यको प्रस्तुति हेर्छु तर कुन समुदायको नृत्यले कुन सामाग्री मागेको छ कस्तो भेषभुषा मागेको छ भन्ने वहाँहरु धेरैले बुझ्नु नै भएको हुदैन । नृत्यको नाममा नृत्य देखाउनु भन्दा प्राचीनकाल देखि चलिआएको समुदायको संस्कृतिको गहिरो अध्ययन अनुसन्धान गरेर मात्रै प्राचीन संस्कृतिलाई जीवन्त राख्न सकिन्छ ।' होडबाजीका रूपमा कसैको मौलिकता नष्ट नगर्न उनको सुझाव छ ।
प्राणायम कक्षा सञ्चालनको तयारी
नगर प्रमुख सुवेदीले सामुदायिक र संस्थागत विद्यालयहरूमा प्राणायाम कक्षा सञ्चालन गर्ने योजना अघि सार्दै प्याब्सनले आयोजना गर्ने यस्ता अतिरिक्त क्रियाकलापले बालबालिकाको समग्र व्यक्तित्व विकासमा योगदान पुर्याउने बताए।
पूर्व क्याम्पस प्रमुख भोजराज दाहालले आधुनिक नृत्यका प्रस्तुति भड्किलो हुने गरेकोमा चिन्ता व्यक्त गर्दै विद्यार्थीहरूको मनोविज्ञानलाई असर पार्ने खालका क्रियाकलाप सच्याउनुपर्नेमा जोड दिए।
नगर शिक्षा शाखा प्रमुख विदुर आचार्यले यस्ता मौलिक सांगीतिक तथा सांस्कृतिक कार्यक्रमले स्थानीय संस्कार, परम्परा र सांस्कृतिक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रम व्यवस्थापन
कार्यक्रमको सभापतित्व नगर प्याब्सन अध्यक्ष बाबुराम तिम्सिनाले गरेका थिए। सञ्चालन नगर प्याब्सन सचिव गणेश कार्की र सदस्य एकराज घिमिरेले संयुक्त रूपमा गरेका थिए।
प्रतिक्रिया