गौरादह नगर अस्पतालमा आँखा सम्बन्धि सेवा थप, अब बिमा बाटै चस्मा पाइने
झापा: झापाको गौरादह नगरपालिका द्वारा सञ्चालित नगर अस्पतालमा चस्मा सम्बन्धि सेवा थप गरिएको छ । बिमा तथा रेफर सेन्टर सहितको सुविधामा सञ्चालित यस अस्पतालले सोमबार देखि शुक्रबार सम्म प्रत्येक दिन आँखा सम्बन्धि उपचार सेवा सञ्चालन गर्ने भएको हो । यस अघि हप्ताको एक दिन मात्रै रहेको उक्त सेवालाई ५ दिन थप गरेर सञ्चालनमा ल्याइने अस्पतालका प्रशासन प्रमुख सम्भु दाहालले बताए ।
नगर अस्पतालका मे.सु. डा. हरि घिमिरे र गौरादह आँखा अस्पतालका अध्यक्ष ध्रुव गिरि बिच सम्झौता भएको जनाइएको छ ।
सम्झौता अनुसार भोलिबाट सेवा सुचारु हुनेछ । सेवा सुचारु गर्नका लागि आँखा सम्बन्धि छुट्टै कक्ष स्थापना गरिएको जनाइएको छ ।
गौरादह आँखा अस्पतालले प्रदान गर्ने सेवा अन्तर्गत आँखा सम्बन्धि निशुल्क ओपिडी सेवा तथा चस्मामा १ हजार रुपैयाँ सम्म बिमा सुविधा उपलब्ध हुनेछ । १ हजार भन्दा माथिको हकमा बजारमा पाइने मूल्य भन्दा सस्तो दाममा चस्मा वितरण हुने गरि प्रक्रिया मिलाइ दर रेट विवरण कार्यपालिकामा पेश गरिएको बताइएको छ ।
सम्झौता आगामी असार मसान्तसम्म रहने छ ।
कार्यपालिकाले उक्त दर रेट अनुमोदन गरे लगत्तै सुपथ मुल्यको दर रेट सार्वजनिक गरिने समेत दाहालले बताएका छ्न् ।
आँखा सम्बन्धि बिमा सहितको सुविधा प्रदान गर्ने बारे नगर अस्पताल सँग सम्झौता गरिएको र भोलि बाटै सेवा सुचारु गरिने गौरादह आँखा अस्पतालमा सञ्चालक ध्रुव गिरि बताउछन् ।
गौरादह नगर अस्पतालले प्रदान गर्ने सेवा गुणस्तरीय रहने संचालक गिरिको दावी छ ।
'हामी अनुभवी चिकित्सक सहितको गुणस्तरीय सेवा प्रदान गर्ने छौँ ।', सञ्चालक गिरिले भने ।
गौरादह आँखा अस्पताल गौरादह २ स्थित गौरादह बजारमा सञ्चालित अस्पताल हो । गत साल स्थापना भएको यस अस्पतालले आँखा सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया