गौरादह बहुमुखी क्याम्पस प्रमुखबाट दाहालको बिदाई, बाँस्तोला बने क्याम्पस प्रमुख www.pardaphas.com
गौरादह बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा भिम विजय वाँस्तोला नियुक्त भएका छन् । क्याम्पस व्यवस्थापन समितिको निर्णयमा वहाँलाई क्याम्पस प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो । स्थानीय ज्ञान ज्योति मा. वि. को प्रधानाध्यापक समेत रहेका बाँस्तोलालाई झण्डै ४ महिना अगाडि सहायक क्याम्पस प्रमुखको जिम्मेवारी प्रदान गरिएको थियो ।
२०४६ सालमा स्थापना भएको गौरादह बहुमुखी क्याम्पस सामुदायिक रूपमा सञ्चालित क्याम्पस हो । २०६० साल देखि निरन्तर रूपमा हिन्द बहादुर दाहाल क्याम्पस प्रमुख थिए ।
आज एक औपचारिक कार्यक्रमको आयोजना गरि दाहाललाई बिदा गरिएको छ भने नव नियुक्त क्याम्पस प्रमुख बाँस्तोलालाई स्वागत गरिएको छ ।

स्थापना काल देखि नै विभिन्न आरोह अवरोह खेप्दै आएको गौरादह बहुमुखी क्याम्पसमा हाल स्नातक तह अन्तर्गत व्यवस्थापन र शिक्षा संकायका कार्यक्रमहरु सञ्चालित छन् । स्नातकोत्तरका कक्षाहरु समेत सञ्चालन हुँदै आएको यस क्याम्पसमा उक्त तहको चौथो सेमेस्टरका कक्षाहरु सञ्चालनमा छन् भने विद्यार्थी अभावमा नयाँ भर्ना भने हुन नसकेको निवर्तमान क्याम्पस प्रमुख दाहाल बताउछन् ।
हाल यस क्याम्पसमा शिक्षण पेसामा १६ जना र ५ जना कर्मचारी गरि कुल २१ जना सेवारत छन् ।

आफ्नो पुरानो संरचनामा कृषि क्याम्पस सञ्चालनमा आएपछि केहि वर्ष मरणासन्न अवस्थामा पुगेको यो क्याम्पस गत वर्ष देखि वडा नम्बर २ स्थित आफ्नै नयाँ भवनमा सञ्चालित छ । बाँस्तोलाको पदिय जिम्मेवारी सँगै यस क्याम्पसले परिमार्जित रूपमा गतिशील हुँदै जाने जनअपेक्षा रहेको पाइन्छ ।
नोट: पर्दाफास मिडिया प्रा. लि. नवनियुक्त क्याम्पस प्रमुख भिम विजय बाँस्तोलालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रिया