गौरादहमा कुलमानको समर्थनमा चर्को नाराबाजी, सरकारविरुद्ध प्रदर्शन
झापा: सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाएपछि देशभर विरोध प्रदर्शनहरू भइरहेका छन्। सोही क्रममा झापाको गौरादहमा समेत कुलमानको समर्थनमा चर्को नाराबाजी गर्दै जुलुस निकालिएको छ। प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा बोकेर विरोध जनाएका थिए।
डिपुचोकमा भेला भएका प्रदर्शनकारीहरू गौरादह बजार परिक्रमा गर्दै पुनः डिपुचोकमै जम्मा भई कोणसभामा परिणत भएका थिए। जुलुसमा सहभागीहरूले “उज्यालो नेपालका नायक, कुलमान हाम्रो साहस!”, “भ्रष्ट सरकार मुर्दावाद!”, “न्यायपूर्ण नेतृत्व चाहिन्छ, कुलमान फर्काऊ!” जस्ता नारा लगाएका थिए।
कोणसभामा विभिन्न वक्ताहरूले कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको कडा आलोचना गरे। सामाजिक अभियन्ता लक्ष्मीप्रसाद संग्रौलाले कुलमानलाई हटाउने निर्णय असामान्य मात्र नभएर राजनीतिक पूर्वाग्रहबाट ग्रसित रहेको बताए। उनले भने, “नेपाललाई लोडसेडिङमुक्त बनाउन अहम् भूमिका खेलेका कुलमान घिसिङलाई हटाउनु सरकारको नियत शंकास्पद छ। भ्रष्टहरूको मिलेमतोमा बनेको वर्तमान सरकारकै कारण मुलुक अनिश्चिततामा फसेको छ।”
अर्का वक्ता जगत अधिकारीले वर्तमान सरकारलाई ‘भ्रष्टहरूको हुल’ भन्दै आक्रोश व्यक्त गरे। उनले भने, “कुलमानलाई हटाएर सरकारले भ्रष्टाचारको दलदलमा डुबेको प्रमाणित गरेको छ। मुलुक अँध्यारो युगतर्फ धकेल्न खोजिएको छ, अब यो सह्य हुने छैन।” उनले भ्रष्टाचार विरुद्ध एकजुट हुन नागरिकहरूलाई आह्वान गरे।
जुलुसमा गौरादहका स्थानीय युवा, व्यापारी, विद्यार्थी, तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति थियो। युवाहरूले कुलमानलाई पुनः नियुक्ति दिन माग गर्दै आगामी दिनमा विरोध स्वरुपहरु परिवर्तन हुँदै जाने बताए।
गौरादहकै अर्का सामाजिक अभियन्ता प्रवीण बस्नेतले भने, “नेपालमा इमानदार व्यक्तिलाई हटाउने र भ्रष्टहरूलाई संरक्षण दिने प्रवृत्ति मौलाउँदै गएको छ। अब सचेत नागरिकहरू मिलेर यसलाई चिर्नुपर्ने बेला आएको छ।”
प्रदर्शनका क्रममा प्रहरीले कुनै हस्तक्षेप गरेन, तर शान्तिपूर्ण रूपमा सभा सम्पन्न भएको थियो। प्रदर्शनकारीहरूले सरकारलाई चेतावनी दिँदै आगामी दिनमा अझ ठूलो विरोध कार्यक्रम गर्ने घोषणा गरेका छन्।
प्रतिक्रिया