प्रतिगमनकारी विरुद्ध सडकमा आएका हौं - सेरधन राई
झापा, २६ चैत । नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले दमकमा यही चैत ३० गते हुन लागेको जनसभा जनताको साझा कार्यक्रम भएको बताएका छन् ।
आज दमकमा प्रेस चौतारी नेपाल झापा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चैत ३० को कार्यक्रम जनताको मुद्धामा केन्द्रीत हुने बताए ।
एमाले सरकारमा छ, एमाले नै सडकमा किन आउनु पर्यो भन्ने जिज्ञासा बारे नेता राईले भने– ‘लोकतन्त्र र गणतन्त्र सत्ताको मात्र विषय होइन । यो जनताको मुद्धा हो । यो जनसभा सरकारको कामसँग सम्बन्धित छैन । जनताले आफ्नो बलिदानीबाट प्राप्त गरेको उपलब्धीसँग सम्बन्धित छ । यो सवाल आम जनताको सवाल हो, जनताको सवाल एमालेको सवाल हो । त्यसैले सडकमा आउँछौं ।’
दमक–७ स्थित पशुहाटमा आयोजना गरिने जनसभामा एमालेले १ लाख जनता उतार्ने तयारी गरेको छ । कोशी प्रदेश स्तरीय जनसभाको आवश्यक तयारी अन्तिम चरणमा पुगेको मुल स्टेरिङ कमिटीका संयोजक एवम् पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका राईले बताए ।
जनसभाको प्राविधिक कामहरु धमाधम भइरहेको बताउँदै उनले चैत ३० गते सबै झापाबासी जनतालाई सहभागिताका लागि आव्हान गरे ।
जनसभाको प्रचारका लागि चैत २९ गते मोटरसाइकल र्याली आयोजना गरिएको बताइएको छ । दमकबाट सुरु हुने र्याली बाह्रघरे–स्कुल चौन, गौरीगञ्ज, गौरादह हुँदै पाँडाजुँगीमा समापन हुने छ ।
जनसभालाई पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया