श्रावण १५ २०८२, बिहिबार

प्रसाईंको भिडियो सन्देश : आत्मसमर्पणको प्रस्ताव र चरित्र हत्या प्रति आक्रोश

Ads

 

सान नेपाल / पर्दाफास

Ads

राजसंस्था पुनःस्थापनाको पक्षमा आन्दोलन चर्काइरहेका व्यवसायी दुर्गा प्रसाईंले लामो मौनता तोड्दै भिडियो सन्देश सार्वजनिक गरेका छन्। चैत १५ गतेको तीनकुने घटनापछि फरार रहेका प्रसाईंले आफू अझै नेपालमै रहेको र यदि मानवअधिकारकर्मी वा अधिवक्ताको उपस्थितिमा जीवन र सुरक्षाको प्रत्याभूति भएमा २४ घण्टाभित्रै आत्मसमर्पण गर्न तयार रहेको बताएका छन्।

प्रसाईंको भिडियोमा एक प्रकारको पीडा, आक्रोश र प्रतिवाद झल्किएको देखिन्छ। उनी भन्छन् — "मलाई जोकर बनाइयो, मुर्गा बनाइयो, मिम बनाइयो।" उनले आफ्ना विरोधीहरूलाई इशारा गर्दै भनेका छन्, "यो मेरो होइन, विचारको हत्या हो।"

Ads

प्रसाईंले सरकार र मिडियामाथि समेत तीव्र आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र एक जना राजावादी नेताले मिलेर आफूलाई राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचेको प्रसाईंको दाबी छ।

त्यसो त उनी आफैं राप्रपाका नेता नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको ‘कमाण्डर’ बनेको घोषणा गरिसकेका छन्। तर, यही समितिको नेतृत्वमा भएको चैत १५ को प्रदर्शन हिंसात्मक बन्दै जाँदा दुई जनाको मृत्यु, सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड र आगजनी भएपछि प्रसाईंमाथि सार्वजनिक आलोचना र कानुनी कारबाहीको दबाब बढेको हो।

भिडियो सन्देशमार्फत प्रसाईंले मृतक सविन महर्जन र सुरेश रजकका परिवारलाई जनही ५ लाख रुपैयाँ राहत स्वरूप दिने घोषणा पनि गरेका छन्।

अब प्रश्न उठेको छ — दुर्गा प्रसाईं साँच्चिकै आत्मसमर्पण गर्छन् त? वा यो सन्देश एउटा नयाँ रणनीतिको संकेत मात्र हो?

राजनीति, विचार र आन्दोलनको नाममा कानुनको उल्लङ्घन कसैबाट स्वीकार्य हुन सक्दैन। तर, कानुन र मानवअधिकारको दुहाई दिँदै स्वेच्छाचारी शैलीमा character assassination गर्नु र जोकर बनाउँदै विचारको हत्या गर्नु पनि स्वस्थ लोकतन्त्रको लक्षण होइन।

सवाल अब विचारको लडाइँ हो वा व्यक्तिको शिकार?
समयले उत्तर देला।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन ०२ २०८२,शुक्रबार