ऐतिहासिक क्षणको साक्षी बन्यो चैतु चोक
झापा — गौरादह नगरपालिका–१ को चैतुचोकमा आज एक ऐतिहासिक क्षणको साक्षी बनेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गौरादह नगर अस्पताल भवनको औपचारिक शिलान्यास गर्दै अब स्वास्थ्य सेवा स्थानीय स्तरमै सुलभ र गुणस्तरीय हुने विश्वास व्यक्त गरे।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारत सीमावर्ती क्षेत्रका नागरिकहरूलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउने गरी अस्पतालको योजना बनाइएको जानकारी गराए। अस्पताल निर्माणका लागि दुई बिगाहा जग्गामा करिब १२ करोड ६० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ। निर्माण कार्य २०८३ माघ १४ भित्र सम्पन्न हुने गरी जे एन्ड जे निर्माण सेवा कम्पनीले जिम्मा लिएको हो।

२०७५ सालमा ओलीकै नेतृत्वमा सबै स्थानीय तहमा आधारभूत १५ शैय्याको अस्पताल निर्माण गर्ने घोषणा भए तापनि, जग्गा व्यवस्थापनमा आएको ढिलाइका कारण गौरादहमा काम सुरु हुन सकेको थिएन। अहिले आएर त्यो अधुरो सपना मूर्त रूप लिन थालेको छ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। गौरादहको स्वास्थ्य क्षेत्रमा यो प्रगति एउटा माइलस्टोनका रूपमा हेरिएको छ।

प्रतिक्रिया