श्रावण १५ २०८२, बिहिबार

कुन्डलीमा नवौं र दशौं भावको सम्बन्धको रहस्य

Ads

अघिल्लो भागमा वैवाहिक सम्बन्धको बारेमा मैले चर्चा गरेको थिएँ । यो भागमा कुण्डलीको दशौं र नवौं भावको सम्बन्ध बारे चर्चा हुनेछ । 

नवौं भावलाई धर्म, भाग्य, उच्च शिक्षा, गुरुजनको आशीर्वाद, नैतिकता र पूण्यसँग जोडिन्छ। यो भावले मानिसको भाग्यको बल कति प्रबल छ भन्ने कुरा देखाउँछ। उता दशौं भाव कर्मक्षेत्रको प्रतिनिधि हो। हाम्रो पेसा, व्यवसाय, सामाजिक प्रतिष्ठा, योगदान र जीवनमा प्राप्त गरिने सम्मान जस्ता कुराहरू दशौं भावले निर्धारण गर्छ।

Ads

जीवनमा यथार्थ सफलता तब मात्र आउँछ जब भाग्य र परिश्रम सँगै अघि बढ्छन्। यदि नवौं र दशौं भावबीच समन्वय हुन्छ भने व्यक्तिको कर्म सफल हुन्छ र भाग्यले समय–समयमा उसलाई साथ दिन्छ। यस्तो सम्बन्धले मानिसलाई उच्च शिक्षा, राम्रो करियर र समाजमा विशिष्ट स्थान प्रदान गर्छ।

उदाहरणका लागि, कुनै व्यक्तिको कुन्डलीमा नवौं भावका स्वामी दशौं भावमा स्थित छन् भने त्यो व्यक्ति धर्म र नैतिकताको बाटो हुँदै आफ्नो कर्ममार्गमा अगाडि बढ्छ। उसले पाएको शिक्षा र जीवन मूल्यहरूले उसको व्यवसायिक सफलतामा ठुलो योगदान दिन्छ। यस्तै, यदि दशौं भावका स्वामी नवौं भावमा गएका छन् भने त्यो व्यक्तिले आफ्ना कर्मद्वारा आफ्नो भाग्य उज्यालो बनाउने अवसर प्राप्त गर्छ। उसले आन्तरिक धर्मबोधका साथ आफ्नो दैनन्दिन कर्महरू अगाडि बढाउँछ र अन्ततः उच्च पद र प्रतिष्ठामा पुग्न सक्छ।

Ads

पुराणहरूमा पनि कथाहरू पाइन्छन्, जसले यो सम्बन्धको महत्व प्रकट गर्छन्। उदाहरणस्वरूप, भगवान रामको जीवनमा पनि नवौं भावको बलियो प्रभाव देखिन्छ। उहाँको कर्म जीवन (राजधर्म पालन) र धर्म जीवन (सत्य र मर्यादाको पालन) एकअर्कामा पूर्ण रूपमा समन्वयित थियो। त्यसैले उहाँलाई आदर्श पुरुषको रूपमा स्मरण गरिन्छ।

तर यदि नवौं र दशौं भावबीच द्वन्द्व वा दुर्बल सम्बन्ध हुन्छ भने मानिसले अथक परिश्रम गर्दा पनि अपेक्षित सफलता प्राप्त गर्न सक्दैन। जीवनमा धर्मका सिद्धान्तमा कमजोरी देखिन्छ, र कर्ममार्ग पनि अस्थिर हुने सम्भावना हुन्छ। त्यसैले नवौं र दशौं भावको सम्बन्धले मात्र भाग्यको दिशा मात्र होइन, कर्ममार्गको स्थायित्व पनि निर्धारण गर्छ।

यसैले, जुनसुकै कुन्डली विश्लेषण गर्दा पनि नवौं र दशौं भावको स्थिति, स्वामी ग्रहहरूको अवस्था, आपसी दृष्टि सम्बन्ध, तथा ग्रहहरूको बल (बलाबल) निहाल्न अति आवश्यक हुन्छ। नवौं भावले देखाएको धर्ममार्ग र दशौं भावले देखाएको कर्ममार्ग सँगसँगै अघि बढेमा मात्र जीवन साँचो अर्थमा सफल, सन्तुलित र सम्मानित बन्न सक्छ।

लेखन/ सम्पादन: सान नेपाल 

सन्दर्भ सामाग्री: ज्योतिष शास्त्र जातक तत्वम्, उत्तर कालामृत तथा ईन्टरनेट र स्वअध्ययन । 

प्रतिक्रिया

सम्बन्धित समाचार
बैशाख १२ २०८२,शुक्रबार
कार्तिक २९ २०८१,बिहिबार