श्रावण १४ २०८२, बुधवार

'शिक्षकहरु! आन्दोलन छोडेर बिद्यालय फर्कनुहोस्' - छत्रपती सुवेदी

Ads

गौरादह (झापा), वैशाख १६।
नेपाल शिक्षक महासंघको आयोजनामा विगत एक महिनादेखि काठमाडौं केन्द्रित रूपमा जारी शिक्षक आन्दोलन अझै निष्कर्षमा नपुग्दा गौरादह नगरपालिकाले गम्भीर चासो व्यक्त गरेको छ। आन्दोलनले विद्यार्थीको शिक्षा, भर्ना प्रक्रिया र परीक्षा प्रभावित भइरहेका कारण नगरपालिकाले विद्यालय पुनः सञ्चालन गर्न शिक्षकहरूलाई अपिल गरेको हो।

Ads

नगर प्रमुख छत्रपति सुवेदीको अध्यक्षतामा २०८२ साल वैशाख १५ गते बसेको नगर कार्यपालिकाको बैठकले आन्दोलनप्रति सहानुभूति प्रकट गर्दै विद्यालय बन्दले विद्यार्थीको "पढ्न पाउने संवैधानिक अधिकार" हनन भइरहेको ठहर गरेको छ।

"शिक्षकहरूको जायज मागप्रति नगरपालिकाको ऐक्यबद्धता छ," प्रमुख सुवेदीले भन्नुभयो, "तर आन्दोलनको नाममा विद्यार्थीको भविष्य अन्धकारमा पार्नु सह्य छैन।"

Ads

नगरका अनुसार कक्षा ५ र ८ को ग्रेडवृद्धि परीक्षा सञ्चालन, विद्यार्थी भर्ना र पठनपाठन अवरुद्ध हुँदा केही आधारभूत विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्।

यस सन्दर्भमा नगरपालिकाले गौरादहका सबै सामुदायिक विद्यालयका प्र.अ.हरू, शिक्षकहरू, शिक्षक महासंघ तथा अन्य पेशागत संघ–संस्थाहरूसँग समन्वय गरी विद्यालय खोल्न र पठनपाठन सुचारु गर्न आग्रह गरेको छ। साथै आन्दोलनको स्वरुप परिवर्तन गरी विद्यार्थीको हितलाई केन्द्रमा राख्न पनि अनुरोध गरिएको छ।

यसैबीच, अभिभावकहरू पनि आफ्ना बालबालिकाको भविष्यप्रति चिन्तित बनेका छन्। "शिक्षक र सरकार दुवैले सहमति खोज्नुपर्छ," एक अभिभावकको भनाइ छ।

नगरपालिकाले आन्दोलनकारी पक्षले आफ्नो अपिललाई गम्भीरतापूर्वक लिने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०६ २०८२,शनिबार