श्रावण १४ २०८२, बुधवार

बालमैत्री समाजका लागि संस्कारमै परिवर्तन आवश्यक : वडाध्यक्ष भण्डारी

Ads

गौरादह नगरपालिका–१ स्थित नमुना टोल विकास संस्थामा बालबालिका मैत्री अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बालबालिकाको समग्र विकासमा समुदायको भूमिका के कस्तो हुनु पर्ने भन्ने बहससँगै कार्यक्रमले बालमैत्री अवधारणालाई व्यवहारमै कसरी उतार्न सकिन्छ भन्ने विषयमा विशेष ध्यान केन्द्रित गरेको थियो। वडाध्यक्ष नागेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय अभिभावक, टोल सुधार समिति, सामाजिक अगुवा र बालबालिका स्वयं सहभागी थिए।

कार्यक्रमको मुख्य उद्देश्य बालबालिकालाई सुरक्षित, सम्मानजनक र प्रेरणादायी वातावरण दिन समुदायले गर्ने व्यवहारिक अभ्यासबारे चेतना फैलाउने रहेको थियो। सहभागिहरूले बालबालिकाको अभिव्यक्ति स्वतन्त्रता, खेलकुद, सिर्जनात्मकता र शैक्षिक विकासमा अभिभावकीय तथा सामाजिक समर्थन अपरिहार्य रहेकोमा जोड दिएका थिए। विशेष गरी घरेलु वातावरण, विद्यालयमा हुने व्यवहार, सार्वजनिक स्थानहरूमा हुने दुव्र्यवहार लगायतका विषयमा खुलेर छलफल गरिएको थियो।

Ads

वडाध्यक्ष भण्डारीले बालमैत्री समाजको निर्माण कुनै योजना मात्र नभई संस्कार परिवर्तनको प्रक्रिया भएको बताए। उनले भने, “टोलका सबै अभिभावक, शिक्षक र युवाले बालबालिकाको हरेक क्रियाकलापलाई हेरिरहने र सकारात्मक सहारा दिने भूमिका खेल्नुपर्छ।” उनका अनुसार बालमैत्री अवधारणालाई विद्यालय र टोल दुबै तहमा व्यवहारिक रुपमा लागू गर्न सकिए मात्रै बालबालिका आत्मनिर्भर र आत्मविश्वासी बन्छन्।

कार्यक्रममा सहभागी बालबालिकाहरूले आफ्ना अनुभव बाँडेका थिए। कसैले अभिभावकको समय अभावको गुनासो गरे भने कसैले विद्यालयमा पाएको तिरस्कारबारे बोले। यी अभिव्यक्तिहरूले कार्यक्रमलाई अझै जीवन्त बनायो। साथै अभिभावकहरूले आफ्ना व्यवहार सुधार्न तयार रहेको संकेत दिए।

Ads

बालमैत्री अवधारणा नेपालमा हालैको दशकमा विकास हुँदै आएको नयाँ सामाजिक मूल्य हो, जसले बालबालिकालाई उपभोक्ताको हैसियतमा होइन, एक स्वतन्त्र र सम्मानयोग्य नागरिकको रूपमा हेर्ने दृष्टिकोणलाई प्रोत्साहन गर्दछ। यस अवधारणामा सुरक्षाको अनुभूति, शिक्षा र स्वास्थ्यमा समान पहुँच, तथा स्नेही व्यवहारको आवश्यकता अनिवार्य ठानिन्छ।

गौरादह–१ को यो पहलले टोलमा बालमैत्री वातावरणको जग बसाउने सम्भावना देखिएको छ। यस्ता कार्यक्रमले न केवल बालबालिकामा आत्मविश्वास बढाउँछ, तर समुदायलाई पनि एकताको सूत्रमा बाँध्ने गर्छ। यसको दीर्घकालीन प्रभाव सामाजिक रूपान्तरणमा देखिने विश्वास स्थानीय अगुवाहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०६ २०८२,शनिबार