भारतले गर्यो पाकिस्तानका ९ स्थानमा हवाई हमला
नयाँ दिल्ली / इस्लामाबाद — भारतीय सेनाले बुधबार राति ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (पीओके) मा रहेका 'आतंकवादी' शिविरहरूमा हवाई आक्रमण (एयर स्ट्राइक) गरेको छ। भारत सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि नौवटा आतङ्ककारी संरचनालाई लक्षित गरेर कारबाही गरिएको हो। ती स्थानहरूबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाइएको तथा केही आक्रमणहरू कार्यान्वयनमा ल्याइएको भारतीय पक्षको दाबी छ।
समाचार अनुसार पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद, कोटली र बहावलपुर विशेष रूपमा प्रभावित बनेका छन्। मुजफ्फराबाद नजिकैको क्षेत्रमा शक्तिशाली विस्फोटको आवाज सुनिएको बताइएको छ। घटनाको अडियो क्लिपसमेत सार्वजनिक गरिएको छ, जसमा तीव्र आवाजमा भएका विस्फोटहरू स्पष्ट रूपमा सुन्न सकिन्छ।

विद्युत आपूर्ति अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स ले प्रत्यक्षदर्शीहरूको हवाला दिँदै मुझफ्फराबाद क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ। शक्तिशाली विस्फोटका कारण स्थानीय जनजीवन प्रभावित भएको जनाइएको छ।

पाकिस्तानी प्रतिक्रिया
पाकिस्तानको सरकारी टेलिभिजन पीटीभी ले भने सेनाका प्रवक्तालाई उद्धृत गर्दै भारतले पाकिस्तानको भूमि लक्षित गरी तीन स्थानमा मिसाइल आक्रमण गरेको पुष्टि गरेको छ। यद्यपि पाकिस्तान सरकारले अहिलेसम्म औपचारिक रूपमा विस्तृत प्रतिक्रिया दिएको छैन।

यस घटनाले भारत–पाकिस्तानबीचको सम्बन्धमा पुनः तनावको संकेत देखिएको छ। सुरक्षाविद्हरूका अनुसार यदि परिस्थिति नियन्त्रणमा राखिएन भने स्थिति थप जटिल बन्न सक्छ।
प्रतिक्रिया