गौरादहमा विश्व रेडक्रस दिवसमा गौरादहमा बृहत् रक्तदान (तस्बिरहरु)
झापा — नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहको आयोजनामा बुधबार विश्व रेडक्रस दिवसको अवसरमा गौरादह बजारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 'मानवताको पक्षमा' भन्ने नारासहित सञ्चालन गरिएको सो कार्यक्रममा ८४ पिन्ट रगत संकलन गरिएको उपशाखाका सभापति सन्जिव बहादुर कार्कीले जानकारी दिए ।
कार्यक्रम बिहान ७ बजेदेखि सुरु गरिएको थियो । कुल ८४ रक्तदातामध्ये १७ जना महिला र ६७ जना पुरुष सहभागी थिए । यसरी महिलाहरूको उल्लेख्य सहभागिता कार्यक्रमको अर्को सकारात्मक पक्षका रूपमा देखिएको छ ।
रक्तदातामध्ये अर्जुन पाण्डे र बरुन सुन्दास सबैभन्दा कम उमेरका रक्तदाता थिए भने डिल्ली कुमार श्रेष्ठले ५६ वर्षको उमेरमा रक्तदान गर्दै सबैभन्दा बढी उमेरका रक्तदाताको परिचय दिए । यसले युवादेखि वरिष्ठ नागरिकसम्मको रक्तदानप्रतिको सक्रियता झल्काउँछ ।
यस्तै, ५९ पटक रक्तदान गरिसकेका गणेश अधिकारी कार्यक्रममा धेरै पटक रक्तदान गर्ने व्यक्ति बने ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र दमकको प्राविधिक सहयोग रहेको थियो । आयोजक संस्था गौरादह उपशाखाले यस्ता कार्यक्रमहरूलाई नियमित रूपमा सञ्चालन गर्दै आएको जानकारीसमेत दिएको छ ।
यस कार्यक्रमले गौरादहमा स्वयंसेवी भावना, सामाजिक उत्तरदायित्व र मानव सेवाको सन्देश प्रवाह गरेको सभापति कार्कीको भनाइ छ । रक्तदान जस्तो जीवनदायी कार्यमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता मानवताको पक्षमा रहेकोमा रेडक्रसकर्मीमा उत्साह थपेको कार्कीले बताएका छन् ।
प्रतिक्रिया