हेटौंडा घोषणापत्र जारी गर्दै ISTU को दोस्रो पूर्ण बैठक सम्पन्न
हेटौंडा, माघ ३ (२०८२)
संस्थागत विद्यालय शिक्षक युनियन (ISTU) को दोस्रो पूर्ण बैठक २०८२ माघ २ र ३ गते मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ। बैठकले विभिन्न संगठनात्मक निर्णयसहित संस्थागत विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीका हकहितसँग सम्बन्धित १३ बुँदे समसामयिक विषय पारित गर्दै ‘हेटौंडा घोषणापत्र’ जारी गरेको छ।
घोषणापत्रमा संस्थागत विद्यालयहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा अनिवार्य दर्ता गराई शिक्षक–कर्मचारीको योगदान रकम तत्काल कट्टी गर्नुपर्ने, सरकारद्वारा तोकिएको तलब, सबै प्रकारका बिदा तथा सुविधाहरू अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने माग गरिएको छ। साथै साविकको शिक्षा ऐन तथा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघ गठन गरी विद्यालय सञ्चालन विनियमावली अनिवार्य बनाउनुपर्ने उल्लेख छ।
बैठकले संस्थागत विद्यालयका शिक्षक–कर्मचारीको पेशागत वृत्तिविकासका लागि तालिम तथा आवश्यक कार्यक्रमको व्यवस्था गर्नुपर्ने, निजी लगानीमा स्थापित विद्यालयहरूको वास्तविक लगानीको संरक्षण सुनिश्चित गर्नुपर्ने निर्णय पनि गरेको छ। संघीय, प्रादेशिक, जिल्ला र पालिकास्तरमा गठन हुने शिक्षा सम्बन्धी आयोग, समिति, गोष्ठी, सेमिनार तथा तालिममा ISTU को अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग घोषणापत्रमा समेटिएको छ।
निजी विद्यालयको प्रभावकारी अनुगमन, नियमन र कारबाहीका लागि अधिकारसम्पन्न संयन्त्र निर्माण गरी त्यसमा ISTU को प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, संस्थागत विद्यालयका शिक्षक–कर्मचारीको अभिलेख पालिका शिक्षा शाखा तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा राख्नुपर्ने व्यवस्था गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।
प्राकृतिक प्रकोप वा रोगव्याधिका कारण विद्यालय लामो समय बन्द हुनुपर्ने अवस्थाका लागि विशेष आर्थिक कोष स्थापना गर्नुपर्ने उल्लेख गर्दै, संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीका पेशागत माग पूरा गराउन नेपाल शिक्षक महासंघले आव्हान गर्ने आन्दोलनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता ISTU ले व्यक्त गरेको छ। साथै निजी विद्यालयका शिक्षक–कर्मचारीका सवाल सशक्त रूपमा उठाउन नेपाल शिक्षक महासंघलाई आव्हान गरिएको छ।
युनियनले सबै शैक्षिक युनियन तथा संघ–संस्थासँग समान दूरी राख्दै अघि बढ्ने, सरोकारवालासँग निरन्तर संवाद र छलफल गर्ने तथा विद्यालय शिक्षालाई गुणस्तरीय, सेवामुखी र आधुनिक बनाउन शिक्षकहरूको पेशागत क्षमता र प्रतिबद्धता उपयोग गर्न सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाएको छ।
घोषणापत्रमा महासचिव भुपाल उप्रेती र अध्यक्ष होम कुमार थापा ले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया