सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षणमा दृढ रहेको रास्वपाको भनाइ
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका उम्मेदवार खगेन्द्र सुनारका अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिएको छ। पार्टीले नेपालको संविधान, प्रचलित कानुन तथा यहाँको मौलिक सामाजिक–सांस्कृतिक संवेदनशीलताप्रति आफू प्रतिबद्ध रहेको जनाएको छ।
विज्ञप्तिमा सामाजिक सञ्जालमा सुनारका केही अभिव्यक्तिका कारण उत्पन्न भ्रम र असहजताप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। सो सन्दर्भमा उम्मेदवार सुनारले समाजमा पर्न गएको अन्योल र धार्मिक–सांस्कृतिक भावनामा चोट पुगेको विषयमा क्षमायाचना गर्दै आत्मालोचना गरेको रास्वपाले जनाएको छ।
पार्टीका अनुसार सुनारले आफू शाकाहारी रहेको, कुनै पनि पशु–पक्षी हत्या वा हिंसाको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाई तथा राष्ट्रिय प्रतीकको सम्मानमा कहिल्यै नकारात्मक गतिविधि नगरेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा व्यक्त केही सन्दर्भहरू तोडमोड गरी प्रचार गरिँदा भ्रम सिर्जना भएको र त्यसबाट उत्पन्न भावनाप्रति उनले दुःख व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले उम्मेदवारलाई सामाजिक सञ्जाल प्रयोगमा थप सचेत रहन निर्देशन दिएको छ। पार्टीले भविष्यमा सार्वजनिक अभिव्यक्ति र व्यवहारमा अझ संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण गराएको जनाएको छ।
विज्ञप्तिमा रास्वपाको मूल मान्यताका रूपमा नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सह–अस्तित्व र पारस्परिक सम्मानलाई अंगीकार गरिएको उल्लेख छ। साथै, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणप्रति पार्टी दृढ रहेको दोहोर्याइएको छ।

रास्वपाले कुनै पनि प्रकारका उत्तेजक गतिविधि वा सामाजिक सद्भाव बिगार्ने तत्वहरूको पक्षमा नरहेको स्पष्ट पार्दै, पार्टीका उम्मेदवारहरू संविधान, विधिको शासन र सामाजिक न्यायप्रति प्रतिबद्ध रहेको जनाएको छ। पार्टीले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई विश्वास दिलाउन चाहेको पनि विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा पार्टी महासचिव कविन्द्र बुर्लाकोटीको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया