मदिरा सेवन प्रमाणित भए सांसद पदबाटै राजीनामा दिन्छु : ज्ञानबहादुर शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता तथा सांसद ज्ञानबहादुर शाहीले आफूले मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाटै राजीनामा दिने घोषणा गरेका छन्। आफूमाथि मदिरा सेवन गरेको र चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न आरोप तथा सामग्री सार्वजनिक गरिएको भन्दै उनले निष्पक्ष छानबिनको माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले आफूले मदिरा सेवन गरेको प्रमाणित गर्न चुनौती दिएका हुन्। उनले संसद्मै स्वास्थ्यकर्मी तथा चिकित्सकको टोली बोलाएर आफ्नो रगतदेखि शरीरका सम्पूर्ण अंग परीक्षण गर्नसमेत आग्रह गरे।
‘जन्मदेखि अहिलेसम्म मदिराको एक थोपा मात्र मेरो शरीरमा प्रयोग भएको देखिए म सांसद पदबाट राजीनामा दिन तयार छु,’ उनले भने। आफूले मदिरा सेवन गरेको प्रमाणित नभए भ्रम फैलाउने तथा आफ्नो चरित्र हत्या गर्नेहरूलाई कारबाही गर्नुपर्ने उनको माग छ।
शाहीले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर अश्लील भिडियो प्रचार गरिएको भन्दै आक्रोश व्यक्त गरे। उनका अनुसार उक्त भिडियो आफ्नो नभई अर्कै व्यक्तिको भएको र प्रविधिको दुरुपयोग गरी आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको हो।
उनले यस्ता सामग्रीले आफू मात्र नभई आफ्नो परिवारमाथि समेत मानसिक असर पार्ने बताए। ‘डिपफेक र नक्कली भिडियो बनाएर मेरो चरित्र हत्या गरियो,’ भन्दै शाहीले साइबर बुलिङ तथा गलत सूचना फैलाउने कार्यमा संलग्नलाई कारबाही गर्न सरकार र प्रहरीको भूमिकामाथि प्रश्न उठाए।
उनले सामाजिक सञ्जालमा कसैको चरित्र हत्या गर्ने उद्देश्यले नक्कली सामग्री उत्पादन तथा प्रसारण गर्ने प्रवृत्ति गम्भीर बन्दै गएको भन्दै राज्यले यस्ता घटनामा प्रभावकारी अनुसन्धान गर्नुपर्ने बताए।
सांसद शाहीले आफूले कर्णालीका दलित परिवारको मृत्यु तथा जनजीविकासँग जोडिएका विषय संसद्मा उठाउँदै आएपछि आफूविरुद्ध योजनाबद्ध रूपमा आक्रमण भइरहेको दाबी गरे।
उनले कर्णालीका पीडित जनताको आवाज उठाउँदा सरकारले त्यसको जवाफ दिनुको सट्टा आफ्नो चरित्र हत्या गरेर आफूलाई चुप लगाउन खोजिएको आरोप लगाए।

‘मैले कर्णालीको पीडा उठाउँदा सरकारले त्यसको उत्तर दिनुको साटो मेरो चरित्र हत्या गरेर मलाई चुप लगाउन खोज्यो,’ शाहीले भने, ‘तर मेरो ज्यान गए पनि, राजनीतिक जीवन समाप्त भए पनि कर्णाली र पीडित जनताको आवाज उठाइरहनेछु।’
शाहीले आफूमाथि लागेका आरोपको सत्यतथ्य छानबिन गरी दोषी देखिए कारबाही र आरोप पुष्टि नभए भ्रम फैलाउनेहरूलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।
मुख्य कुरा: शाहीले आफूले मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने चुनौती दिएका छन् भने नक्कली तथा डिपफेक भिडियोमार्फत चरित्र हत्या गरिएको दाबी गर्दै निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेका छन्।
प्रतिक्रिया