ओलीको हप्कीदप्कीपछि जेएन थपलिया बेहोस भएको दाबी
काठमाडौं । बागमती प्रदेश सरकार गठनबारे छलफल गर्न सोमबार साँझ भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवासमा आयोजित बैठकमा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ (जेएन) थपलिया बेहोस भएको दाबी गरिएको छ।
बैठकमा सहभागी स्रोतका अनुसार सरकार गठनको तयारीबारे अध्यक्ष ओलीले थपलियाप्रति कडा असन्तुष्टि व्यक्त गर्दै हप्कीदप्की गरेका थिए। त्यसक्रममा अपमानजनक टिप्पणी भएपछि थपलिया बेहोस भएर ढलेका र उपचारका लागि मध्यपुर ठिमी अस्पताल लगिएको स्रोतको दाबी छ।
यद्यपि एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले सरकार गठनबारे छलफल भएको स्वीकार गरे पनि थपलिया ढलेको घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन्।
बागमती प्रदेशमा एमालेले सरकारको नेतृत्व गर्ने सहमति भए पनि सरकार गठनका लागि अन्य दलको समर्थन आवश्यक रहेको छ।
यो समाचारमा ए आइ निर्मित सांकेतिक तस्बिर प्रयोग गरिएको छ।
प्रतिक्रिया