कांग्रेसमा महाधिवेशन विवाद चर्कियो, देउवाद्वारा असोज ३ को निर्वाचन बहिष्कार गर्न अपिल
‘मलाई कुनै पदको लोभ छैन, तर पार्टी कमजोर र विभाजित हुँदा मुकदर्शक बन्न सक्दिनँ’
काठमाडौँ। नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको मिति र वैधानिकतालाई लिएर विवाद चर्किएका बेला पूर्वसभापति शेरबहादुर देउवाले असोज ३ गतेदेखि सुरु हुने महाधिवेशन तथा निर्वाचन प्रक्रिया बहिष्कार गर्न पार्टीका नेता–कार्यकर्तालाई अपिल गरेका छन्।
मंगलबार अपिल जारी गर्दै देउवाले विशेष महाधिवेशनबाट आएको नेतृत्वले अघि बढाएको महाधिवेशन प्रक्रियालाई आफूले वैधानिक नमान्ने बताएका छन्। उनले विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै अन्तिम निर्णय नहुँदै निर्वाचन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने दाबी गरेका छन्।
देउवाले आफू व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीको लालसामा नरहेको बताएका छन्। तर १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको उनको भनाइ छ।
उनले पार्टी कमजोर वा विभाजित हुने अवस्था आए आफू मुकदर्शक भएर बस्न नसक्ने बताएका छन्। साथै, कांग्रेसभित्रको वर्तमान विवाद समाधानका लागि एकता, सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।
देउवाले विशेष महाधिवेशन पक्षधरले अघि सारेको प्रक्रियामाथि प्रश्न उठाउँदै त्यसबाट बनेको नेतृत्वलाई वैधानिक मान्न नसकिने जिकिर गरेका छन्। उनले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई असोज ३ गतेदेखि सुरु हुने प्रक्रियामा सहभागी नहुन र आफ्नो पक्षले प्रस्ताव गरेको मंसिर २१, २२ र २३ गतेको १५औँ महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन्।
यसैबीच कांग्रेस सभापति गगन थापाले भने तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिमा समावेश गरिएको उल्लेख गर्दै महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्। थापाले असोज ३ र ४ गतेदेखि हुने वडा अधिवेशनलगायत निर्धारित प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन पार्टी पंक्तिलाई आह्वान गरेका छन्।
कांग्रेसले एकातर्फ असोज ३ देखि वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ भने देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। यसले पार्टीभित्रको विवादलाई समानान्तर महाधिवेशनको अवस्थामा पुर्याएको छ।


प्रतिक्रिया