आश्विन ०४ २०८३, आइतबार

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न

वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन, ३१ जिल्लामा आज पनि अधिवेशन जारी

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले शनिबार जारी गरेको विज्ञप्तिअनुसार वडा तहको अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा सुरु भएको हो। अधिवेशनअन्तर्गत ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङलगायत ४३ जिल्लाका वडामा निर्वाचन सम्पन्न भएको समितिले जनाएको छ।

कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। सोहीअनुसार शनिबार पहिलो चरणमा ४३ जिल्लामा अधिवेशन सम्पन्न भएको हो। रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी ३१ जिल्लामा असोज ४ गते पनि वडा अधिवेशन जारी रहने निर्वाचन समितिले जनाएको छ।

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने तत्काल वडा अधिवेशन नहुने बताइएको छ। यी जिल्लामा भोटेकोशी र त्रिशूली नदीको बाढीबाट प्रभावित अवस्था रहेकाले अधिवेशनको प्रक्रिया पछि अघि बढाइने जनाइएको छ।

नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्दैछ। त्यसैको तयारीस्वरूप वडा तहबाट अधिवेशन प्रक्रिया सुरु गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार