नयाँ आईजीपी केसीको पाँच प्रतिबद्धता, प्रहरी संगठन सुधारमा जोड
काठमाडौं । नेपाल प्रहरीका ३४औँ महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले बुधबारदेखि ७९ हजार ५३१ प्रहरी कर्मचारीको कमान्ड सम्हालेका छन्।
पदभार ग्रहण गरेलगत्तै उनले देशभरका प्रहरी युनिट प्रमुखलाई भर्चुअल ब्रिफिङ गर्दै संगठनलाई व्यावसायिक, अनुशासित र प्रविधिमैत्री बनाउने प्रतिबद्धता जनाएका छन्।
केसीले संगठनभित्र कसैलाई प्रतिशोधपूर्ण व्यवहार नगरिने र कसैलाई काखापाखा नगरिने स्पष्ट पारे। व्यक्तिगत गल्तीको जिम्मेवारी संगठनले नबोक्ने बताउँदै उनले संगठनको गोपनीयता उल्लंघन गर्नेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिए।
उनले आधारभूत तहका प्रहरी कर्मचारीका गुनासा सम्बोधन गर्न छुट्टै संयन्त्र विकास गर्ने, सरुवा–बढुवालाई पारदर्शी बनाउने र कार्यसम्पादनका आधारमा पदस्थापन गर्ने बताएका छन्।
एआईजी र डीआईजीहरूसँग सामूहिक भावनाका साथ काम गर्ने उल्लेख गर्दै केसीले खस्किएको प्रहरीको मनोबल उकास्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
नयाँ नेतृत्वका यी प्रतिबद्धता व्यवहारमा कति कार्यान्वयन हुन्छन् भन्ने कुरा आगामी दिनमा देखिनेछ।
प्रतिक्रिया