भदौ २४ २०८३, बुधवार

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ६५ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार राति ८ बजेसम्म १ हजार ३ सय ६५ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १ सय ७४, नुवाकोटमा १ सय ९७, धादिङमा ७०, चितवनमा ३ सय ६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २६ र नवलपरासी पश्चिममा २ सय २२ जना रहेका छन्।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार १ सय ४७ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ तथा आफन्तका १ हजार ४ सय १२ गरी कुल २ हजार ६ सय ९८ वटा डीएनए नमुना सङ्कलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ३ सय १० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।

यसैबीच, बाढीपछि ४ हजार ७७ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा ३ हजार ३० जना राखिएका छन्।

बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै बेपत्ताको खोजी, शव पहिचान तथा व्यवस्थापन र विस्थापितहरूको व्यवस्थापनलाई प्राथमिकतामा राखेर सुरक्षा निकायले काम गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार