भदौ ११ २०८३, बिहिबार

रसुवा बाढी : काठमाडौंमा ३३ जनाको उपचार हुँदै, ९ जना डिस्चार्ज

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीमा परी घाइते भएकामध्ये काठमाडौं ल्याइएका ४२ जनामध्ये ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। बाँकी ३३ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेमध्ये सबैभन्दा धेरैको उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको छ। त्यहाँ बाढीबाट घाइते भएका २३ जनालाई ल्याइएकोमा ४ जना उपचारपछि डिस्चार्ज भएका छन् भने १९ जना अझै उपचाररत छन्।

त्यस्तै, वीर अस्पतालमा ३ जना र नर्भिक अस्पतालमा ३ जना घाइतेको उपचार भइरहेको छ। छाउनीस्थित अस्पतालमा पनि एक जना घाइते उपचाररत रहेको प्रहरीले जनाएको छ।

May be an image of text

बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि गम्भीर अवस्थाका घाइतेलाई उद्धार गरी काठमाडौं ल्याइएको हो। उद्धार गरिएका घाइतेको अवस्था हेरेर विभिन्न अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी छ। ठूलो विपद्का कारण अझै केही व्यक्ति सम्पर्कविहीन रहेको बताइएको छ भने प्रभावित क्षेत्रमा राहत तथा उपचारको कामलाई तीव्रता दिइएको छ।

रसुवामा आएको बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ। विपद्पछि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विभिन्न निकायको समन्वयमा उद्धार, उपचार र राहतका काम अघि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार