कार्तिक २६ २०८३, बुधवार

गाउँमै चिनियाँ भाषा सिक्ने अवसरको तयारीमा गौरादह

विश्व बजारमा बढ्दो अवसरलाई लक्षित गर्दै नगरपालिका र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच समझदारी, पठनपाठनको ढाँचा तय गर्न सरोकारवालासँग छलफल हुँदै

सरोज अधिकारी
गौरादह, झापा ।

स्थानीय स्तरमै गुणस्तरीय शिक्षा र अन्तर्राष्ट्रिय अवसरको पहुँच विस्तार गर्ने उद्देश्यसहित झापाको गौरादह नगरपालिकाले विद्यालय तहमा चिनियाँ भाषा पठनपाठन गराउने तयारी थालेको छ। यसका लागि नगरपालिकाले लुम्बिनी बौद्ध विश्वविद्यालयसँग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ।

चिनियाँ भाषाको ज्ञानलाई भविष्यको शैक्षिक, व्यावसायिक तथा रोजगारीका अवसरसँग जोड्ने लक्ष्यसहित अघि बढाइएको यो पहल गौरादहको शैक्षिक क्षेत्रमा नयाँ अभ्यासका रूपमा हेरिएको छ। विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा चीनको बढ्दो प्रभावसँगै चिनियाँ भाषा जान्ने जनशक्तिको मागसमेत बढ्दै गएको सन्दर्भमा स्थानीय विद्यार्थीलाई आफ्नै ठाउँमा भाषा सिक्ने अवसर उपलब्ध गराउने नगरपालिकाको योजना छ।

यस योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगरपालिकाले सरोकारवालासँग छलफल अघि बढाएको छ। चिनियाँ भाषा शिक्षणको आवश्यकता, पठनपाठनको विधि, विद्यालय छनोट, जनशक्ति व्यवस्थापन र दीर्घकालीन निरन्तरताका विषयमा राय–सुझाव संकलन गर्न कार्तिक १८ गते नगरपालिकाको सभाहलमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।

नगर प्रमुख छत्रपति सुवेदीको पहलमा आयोजना हुन लागेको छलफलमा लुम्बिनी बौद्ध विश्वविद्यालयका वरिष्ठ प्राध्यापकसहित विद्यार्थी, अभिभावक, वडाध्यक्ष, जनप्रतिनिधि तथा नगर क्षेत्रका माध्यमिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहनेछ। बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रमले भाषा शिक्षणलाई स्थानीय आवश्यकता र विद्यार्थीको रुचिअनुसार अघि बढाउन आधार तयार गर्ने अपेक्षा गरिएको छ।

चिनियाँ भाषा सिकाइ केवल अर्को भाषाको ज्ञान हासिल गर्ने विषयमा सीमित छैन। यसले विद्यार्थीलाई चीनसँग जोडिएका उच्च शिक्षा, छात्रवृत्ति, पर्यटन, व्यापार तथा रोजगारीका सम्भावित अवसरबारे जानकार बनाउने आधारसमेत तयार गर्न सक्छ। तर, यस्ता अवसरको वास्तविक लाभ लिन भाषाको व्यावहारिक ज्ञानसँगै गुणस्तरीय शिक्षण, दक्ष प्रशिक्षक र निरन्तर अभ्यास आवश्यक हुन्छ।

गौरादहका विद्यार्थीले गाउँमै बसेर अन्तर्राष्ट्रिय भाषा सिक्न पाउने वातावरण निर्माण हुनु सकारात्मक कदम हो। यसले आर्थिक अवस्था वा भौगोलिक दूरीका कारण अतिरिक्त भाषा सिक्ने अवसरबाट वञ्चित विद्यार्थीलाई पनि नयाँ सम्भावनासँग जोड्न सक्छ।

यद्यपि, योजना सफल बनाउन समझदारी पत्रमा हस्ताक्षर गर्नु मात्र पर्याप्त हुँदैन। कुन कक्षादेखि पढाइ सुरु गर्ने, कति विद्यालयमा कार्यक्रम सञ्चालन गर्ने, शिक्षकको व्यवस्था कसरी गर्ने, पाठ्यसामग्री र खर्चको स्रोत के हुने तथा विद्यार्थीको सिकाइ उपलब्धि कसरी मूल्यांकन गर्ने भन्ने विषय स्पष्ट हुन आवश्यक छ।

स्थानीय आवश्यकता, विद्यार्थीको रुचि र उपलब्ध स्रोतसाधनलाई आधार बनाएर कार्यक्रम अघि बढाउन सके चिनियाँ भाषा शिक्षण गौरादहको शैक्षिक विकासमा नयाँ आयाम बन्न सक्छ। त्यसका लागि आजको छलफलबाट प्राप्त सुझावलाई व्यवहारमा उतार्दै योजनालाई प्रभावकारी र दीर्घकालीन बनाउनु नै नगरपालिकासामु रहेको मुख्य चुनौती हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार