भदौ २२ २०८३, सोमबार

गौरादहमा १९औँ पुस्तकालय दिवस मनाइयो


गौरादह । १९औँ पुस्तकालय दिवस विभिन्न कार्यक्रमसहित गौरादह नगरपालिका–१ स्थित जानकेश्वर शिवालय मन्दिर परिसरमा मनाइएको छ।
जानकिश्वर सिर्जनशील महिला समूह गौरादह–१ को व्यवस्थापन तथा गौरादह सामुदायिक पुस्तकालय एवं सामुदायिक सिकाइ केन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
प्राध्यापक जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै श्रेष्ठले गौरादह बहुमुखी क्याम्पस र सामुदायिक पुस्तकालयको विकासक्रमका विषयमा चर्चा गरेका थिए। आफूले १७ वर्षसम्म गौरादह बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने अवसर पाएको स्मरण गर्दै उनले समाज परिवर्तनमा शिक्षा, ज्ञान र युवाहरूको भूमिका महत्वपूर्ण हुने बताए।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै गौरादह सामुदायिक पुस्तकालय तथा सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष अम्बिका पौडेलले पुस्तकालयले स्थापनाकालदेखि नै आफ्नो उद्देश्यअनुरूप विभिन्न रचनात्मक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्। कृषि क्याम्पसको स्थापना भएपछि गौरादह बजारमा निर्माण गरिएको पुस्तकालय भवनबाट पुस्तकालय सेवा निरन्तर सञ्चालन हुँदै आएको उनले जानकारी दिइन्।
अध्यक्ष पौडेलका अनुसार गौरादह सामुदायिक पुस्तकालय अन्तर्राष्ट्रिय संस्था READ को आर्थिक सहयोगमा २०५३ सालमा स्थापना भएको हो।
पुस्तकालय दिवसका अवसरमा गौरादह, गौरीगञ्ज र कमल गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीबीच प्रतियोगितात्मक वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा पुस्तकालयको महत्व, पठन संस्कृतिको विकास, शिक्षा तथा समाज परिवर्तनमा युवाको भूमिका लगायतका विषयमा चर्चा गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार