भदौ १९ २०८३, शुक्रबार

गौरादहमा पहिलो महिला फुटबल प्रतियोगिताको भव्य उद्घाटन, ‘खेलकुद विकासको कोशेढुंगा बन्ने’ अपेक्षा

चिरन्जिबी पौडेल 

गौरादह, झापा । झापाको गौरादहमा पहिलोपटक आयोजना गरिएको महिला फुटबल प्रतियोगिता - २०८३ को आज भव्य उद्घाटन गरिएको छ। स्पर्श सामाजिक क्लब गौरादहको आयोजनामा सुरु भएको प्रतियोगिता गौरादह - १ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भइरहेको छ। 
उद्घाटन समारोहमा कोशी प्रदेश खेलकुद विकास समितिका महासचिव तथा प्रमुख अतिथि विप्लव घोषले गौरादहमा भव्य रूपमा महिला फुटबल प्रतियोगिता आयोजना गरेर स्पर्श सामाजिक क्लबले गौरादहसँगै कोशी प्रदेशकै इज्जत बढाएको बताए। उनले प्रतियोगिता ऐतिहासिक बन्ने विश्वास व्यक्त गर्दै यसले खेलकुद क्षेत्रको विकासमा कोसेढुंगाको काम गर्ने धारणा राखे।

गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले नगरपालिकामा दर्ता भएको छोटो समयमै स्पर्श सामाजिक क्लबले यति ठूलो प्रतियोगिता आयोजना गर्नु आफैंमा प्रशंसनीय कार्य भएको बताए। उनले गत वर्ष गौरादहमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड आयोजना गरिएको स्मरण गर्दै खेलकुदको समग्र विकासका लागि व्यवस्थित रंगशालाको आवश्यकता रहेको बताए।

नगरप्रमुख सुवेदीले गौरादहमा रंगशाला निर्माणका लागि यसै वर्षबाट काम अघि बढाउने प्रयास भइरहेको र जग्गा व्यवस्थापनका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। उनले खेलकुदलाई समग्र विकासको माध्यमका रूपमा लिनुपर्ने बताए।

हालै भएका दुःखद घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले विपद्का कारण सुरुङमा थुनिएका व्यक्तिहरूको तत्काल उद्धार हुनुपर्नेमा समेत जोड दिए।

स्पर्श सामाजिक क्लबका अध्यक्ष उज्ज्वल दाहालले सीमित स्रोतसाधनका बीच ठूलो आकारको फुटबल प्रतियोगिता आयोजना गर्नु सहज नरहेको बताएका छन्। प्रतियोगिता सफल बनाउन आर्थिक तथा अन्य सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति उनले उच्च सम्मान व्यक्त गरे।

अध्यक्ष दाहालले प्रतियोगिता सञ्चालनका लागि मन, वचन र कर्मले सहयोग पुर्‍याउने गौरादहका जनप्रतिनिधि, सामाजिक संघ–संस्था, क्लबका पदाधिकारी तथा सदस्य र खेलप्रेमीहरूप्रति समेत आभार व्यक्त गरे।

उनले सबैको साथ र सहयोगकै कारण प्रतियोगिता सम्भव भएको उल्लेख गर्दै गौरादहमा आयोजना गरिएको यो महिला फुटबल प्रतियोगिता ऐतिहासिक बन्नेमा आफू विश्वस्त रहेको बताए। उनले भने - म यो खेलले इतिहास रचोस भन्ने चाहन्छु, तपाईंहरुको माया सदैव रहोस भन्ने कामना गर्दछु।  उनले भावुक हुँदै भने - मेरो छायाँ बनेर हिड्ने साथि भाईको कसरि प्रसंसा गरौँ म संग शब्द नै छैन ।  

नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले गौरादहको बृहत्तर हितमा हुने कार्यक्रमलाई नगरपालिकाले सदैव स्वागत गर्ने बताए। महिला फुटबल प्रतियोगिता आयोजना गरेकोमा आयोजक क्लबको प्रशंसा गर्दै उनले रंगशाला निर्माणका लागि आवश्यक जमिन खरिद गर्न ३ करोड रुपैयाँ विनियोजन गरिएको र जग्गाको खोजी भइरहेको जानकारी दिए।

नगर उपप्रमुख जलवर्षा राजवंशीले महिलाहरू हरेक क्षेत्रमा अगाडि बढेको आफूले देख्न चाहेको बताउँदै प्रतियोगिता महिलाको क्षमता प्रस्फुटन गर्ने अवसर मात्र नभई गौरादहका लागि ‘जिउँदो इतिहास’ भएको उल्लेख गरिन्। उनले नगरपालिकाले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने र खेलकुदका लागि केही रकमसमेत विनियोजन गरिएको बताइन्।

उद्घाटन समारोहमा माउण्ट एभरेस्ट माध्यमिक विद्यालयका करिब ८० जना विद्यार्थीले संयुक्त रूपमा प्रस्तुत गरेको स्वागत नृत्यले उपस्थित खेलप्रेमीलाई आकर्षित गरेको थियो। जनता माध्यमिक विद्यालय र माउण्ट एभरेस्ट माध्यमिक विद्यालयका स्काउट ट्रुपले मार्चपाससमेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा पूर्व नगरप्रमुख रोहितकुमार साह, जिल्ला खेलकुद विकास समितिका शेखर कँडेल, झापा जिल्ला खेलकुद समितिका सदस्य–सचिव विष्णु नेम्बाङ, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खेलाडी, विद्यार्थी, बुद्धिजीवी, संघ–संस्थाका प्रतिनिधि तथा उल्लेख्य संख्यामा खेलप्रेमीहरूको सहभागिता थियो।

‘गौरादहको गर्व, महिला फुटबलको पर्व, लागूऔषधमुक्त समाज हाम्रो संकल्प’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा नेपालका ६ र भारतका २ गरी ८ टोली सहभागी छन्। विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

May be an image of one or more people and text that says 'CROUPA GAURADAHA VOMEN'S IS EETTALI LLESHMENT 2XED ® FAIR FC GROUIP DHARAN ਬরਾ CLUB DASIS គន10ញ RANGCHAFC KAKARVETTA WOMENPO SPARSHA CL 28-1 GAIGHAT बালেय 海 ាផ្ាបាត oνέα! จหาง ማዎጵ वन प्रथम गौरादह महिला फटबल प्रतियोगिता- २०0३ GAURADANA WOMEN'S पुरस्कारहकु परस्कार: ਬਸਪੇ 2ารง रपर्श सामाजिक कलब จุกนอุกาา4กวาชา'

उद्घाटन खेलमा भारतीय टोलीको जित

प्रतियोगिताको उद्घाटन खेल धरान–१७ को फेयर फुटबल क्लब र भारतको पश्चिम बंगालस्थित रोटाखोला फुटबल एकेडेमीबीच भएको थियो। खेलको सुरुवाती चरणमा धरानकी एक खेलाडीबाट आत्मघाती गोल भएको थियो भने रोटाखोला फुटबल एकेडेमीले थप तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको आयोजकले जनाएको छ।

यससँगै गौरादहमा पहिलोपटक आयोजना भएको महिला फुटबल प्रतियोगिताले औपचारिक रूपमा प्रतिस्पर्धात्मक यात्रा सुरु गरेको छ। प्रतियोगिताले स्थानीय महिला खेलाडीलाई अवसर प्रदान गर्नुका साथै गौरादहमा महिला फुटबलको विकासका लागि नयाँ आधार तयार गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता भदौ १९ देखि २८ गतेसम्म चल्नेछ।
May be an image of textMay be an image of blueprint, musical instrument and textMay be an image of blueprint and text

प्रतिक्रिया

सम्बन्धित समाचार