गौरादहमा पहिलोपटक महिला फुटबलको उत्सव, विजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ
पर्दाफास भदौ १५ सोमबार, गौरादह
गौरादह । झापाको गौरादहमा पहिलोपटक महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। खेलकुदमा महिलाको सहभागिता बढाउने र स्थानीय महिला खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने उद्देश्यले ‘पहिलो गौरादह महिला फुटबल प्रतियोगिता-२०८३’ आयोजना गर्न लागिएको हो।

स्पर्श सामाजिक क्लब गौरादहको आयोजनामा हुने प्रतियोगिता भदौ १९ गतेदेखि गौरादह-१ स्थित जनता माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको तयारी पूरा हुँदै गर्दा गौरादहमा महिला फुटबलप्रति उत्साहसमेत बढेको छ।
आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको खेल तालिका तथा कप सार्वजनिक गरेको छ। ‘गौरादहको गर्व, महिला फुटबलको पर्व, लागूऔषधमुक्त समाज हाम्रो संकल्प’ भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष उज्वल दहालले बताए।

उनका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य महिला खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्नुका साथै युवालाई लागूऔषधविरुद्ध सचेत गराउनु हो। खेलकुदलाई मनोरञ्जनसँग मात्र नभई सामाजिक रूपान्तरणको माध्यमका रूपमा अघि बढाउने आयोजकको लक्ष्य छ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत विभिन्न विधामा सम्मान गरिने भएको छ। उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र प्लेयर अफ द टुर्नामेन्ट लगायतका विधामा खेलाडी पुरस्कृत हुने खेल संयोजक युवराज खड्काले जानकारी दिए।
गौरादहमा पहिलोपटक आयोजना हुन लागेको महिला फुटबल प्रतियोगितालाई स्थानीय खेलकुद क्षेत्रका लागि महत्वपूर्ण सुरुवातका रूपमा हेरिएको छ। पुरुष फुटबलको तुलनामा महिला फुटबलका लागि अवसर र प्रतियोगिता कम हुने अवस्थामा यस्ता प्रतियोगिताले स्थानीय प्रतिभालाई पहिचान र विकास गर्ने अवसर दिने अपेक्षा गरिएको छ।
मैदानमा बल लिएर उत्रिने खेलाडीका लागि यो प्रतियोगिता केवल एउटा खेल प्रतियोगिता मात्र होइन, आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पनि बन्नेछ। आयोजकको अपेक्षा छ। गौरादहमा सुरु हुन लागेको यो महिला फुटबलको उत्सवले आगामी दिनमा अझ धेरै महिला खेलाडीलाई मैदानतर्फ आकर्षित गर्नेछ।
प्रतियोगितासँगै लागूऔषधविरुद्धको सामाजिक अभियानलाई जोडिएकाले खेलकुदमार्फत स्वस्थ, अनुशासित र सकारात्मक समाज निर्माणको सन्देशसमेत प्रवाह हुने आयोजकको विश्वास छ।
प्रतिक्रिया