भदौ १६ २०८३, मंगलबार

रसुवा–नुवाकोटका बाढीपीडितलाई सारथी युवा क्लबको ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग

गौरादह - प्राकृतिक प्रकोपबाट प्रभावित रसुवा–नुवाकोट क्षेत्रका पीडितका लागि सारथी युवा क्लबले ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ।

संस्थाको कार्यसमिति बैठकको निर्णयअनुसार आगामी कार्यक्रमका केही खर्च कटौती गरी संस्थाका सदस्यहरूबाट संकलित रकमसहित ५० हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको क्लबले जनाएको छ।

त्यस्तै, गौरादह उद्योग वाणिज्य संघमार्फत प्रभावित क्षेत्रमा ६ बोरा भुजा र ५ कार्टुन चाउचाउ समेत पठाइएको क्लबले जनाएको छ।

क्लबले प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सम्पर्कविहीन भएकाहरूको सकुशल खोजी तथा उद्धार हुन सकोस् भन्ने कामनासमेत क्लबले गरेको छ।

विपद्को संवेदनशील अवस्थामा सबै एक–अर्काको सारथी बन्दै एकताबद्ध भएर अघि बढ्न क्लबले सबैमा आग्रह गरेको छ।

“समाजको सारथी बन्ने अभियानमा सदैव इमानदार प्रयास” भन्ने उद्देश्यसहित सारथी युवा क्लबले सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार