नुवाकोटमा एउटै घरबाट २३ जनाको शव फेला, तीर्थयात्री हुनसक्ने प्रहरीको अनुमान
नुवाकोट, भदौ १६ - नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा भोटेकोशी बाढीले पुरिएको एउटै घरबाट २३ जनाको शव फेला परेको छ।
मंगलबार खोज तथा उद्धारका क्रममा घरको एउटै कोठाबाट २१ जना र घरको बाहिरी भागबाट थप दुई जनाको शव फेला परेको उद्धारमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन्।
गत बुधबार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले तीनतले घर पुरेको थियो। बाढीबाट जोगिन घरको माथिल्लो तलामा पुगेका मानिसहरू बाढीको चपेटामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
फेला परेका शवहरूको भने हालसम्म पहिचान हुन सकेको छैन। उनीहरू गोसाइँकुण्डतर्फ जाने तीर्थयात्री हुनसक्ने प्रहरीको अनुमान छ। शवसँगै झोलालगायतका सामग्रीसमेत फेला परेको बताइएको छ।
उद्धारमा संलग्न प्रहरी अधिकारीका अनुसार फेला परेका २३ शवमध्ये एउटा शव विदेशी नागरिकको जस्तो देखिएको छ। घरको छतभन्दा मुनिको कोठामा शवहरू फेला परेका हुन्।
प्रहरीका अनुसार एक महिलाले सानो बालिकालाई अँगालोमा च्यापेकै अवस्थामा शव फेला परेको छ। उनीहरू आमाछोरी हुनसक्ने अनुमान गरिएको छ। बाढीबाट बच्न एकै ठाउँमा भेला भएका बेला घरभित्रै बाढीले पुरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया