रसुवा बाढीमा चीनको साथ : नेपाललाई २३ करोडभन्दा बढी आर्थिक सहयोग
काठमाडौं, भदौ १५ — रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट नेपालमा भएको जनधनको क्षतिप्रति चीनले दुःख व्यक्त गर्दै विपत्तिको यस घडीमा नेपाल र नेपाली जनताको साथमा रहेको जनाएको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा चीन सरकारका तर्फबाट घोषणा गरिएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङको सन्देश सुनाउँदै नेपाललाई सहयोग निरन्तर रहने बताएका हुन्।
राजदूत माओमिङका अनुसार राष्ट्रपति सी र प्रधानमन्त्री लीले बाढीमा ज्यान गुमाउने नेपाली नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, विपत्तिमा नेपाल एक्लो नरहेको र चीन नेपाल तथा नेपाली जनताको साथमा रहेको सन्देश उनीहरूले दिएका छन्।
चिनियाँ राजदूतले अर्थ मन्त्रालयमा अर्थमन्त्री वाग्लेलाई चीन सरकारको तर्फबाट २० लाख अमेरिकी डलर अर्थात् करिब ३० करोड ६ लाख रुपैयाँ बराबरको सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।
त्यस्तै, चिनियाँ रेडक्रसले २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोगसमेत उपलब्ध गराएको छ। दुवै सहयोग जोड्दा चीनबाट नेपालले करिब ३३ करोड १२ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त गरेको छ।
राजदूत माओमिङले विपद्पछिको उद्धार तथा राहतमा चीनको सहयोग निरन्तर रहने बताएका छन्। हिमालय क्षेत्रमा आएको ठूलो विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्नुपर्ने उनको भनाइ छ।
चीन सरकारले घोषणा गरेका सहायता सामग्री नेपाल भित्रिन सुरु भइसकेको राजदूत माओमिङले जानकारी दिएका छन्। उनका अनुसार आइतबार मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्यांकेट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुट लगायतका राहत सामग्री काठमाडौं ल्याएका छन्।
यसैगरी, चीनतर्फ रोकिएका नेपाली नागरिकलाई मुस्ताङको कोरला नाका हुँदै नेपाल फर्काउने विषयमा पनि पहल भइरहेको उनले अर्थमन्त्री वाग्लेलाई जानकारी गराएका छन्।
बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहित दक्ष जनशक्ति नेपाल आइसकेको राजदूत माओमिङले बताएका छन्। थप उद्धार प्राविधिकहरू पनि नेपाल आइपुगेको उनले जानकारी दिए।
नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणका सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउन चीन सरकारले तीव्र गतिमा काम गरिरहेको पनि उनले बताएका छन्।
प्राकृतिक विपत्तिको यस कठिन समयमा चीनले आर्थिक सहयोग, राहत सामग्री तथा उद्धार जनशक्तिमार्फत नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया