काठमाडौं–मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारी
काठमाडौं । रसुवामा आएको बाढीका कारण अवरुद्ध काठमाडौं–मुग्लिन जोड्ने पृथ्वी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।
सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार बैरेनीदेखि गलौंदी क्षेत्रका विभिन्न स्थानमा बाढीले थुपारेको लेदो हटाउने काम तीव्र गतिमा भइरहेको छ।
उनका अनुसार बैरेनीदेखि गलौंदीसम्म करिब १३ किलोमिटर सडकखण्डमा ठूलो मात्रामा लेदो थुप्रिएको छ। लेदोको तह बाक्लो भएकाले सडकको वास्तविक अवस्थाबारे तत्काल यकिन गर्न कठिन भइरहेको विभागले जनाएको छ।
सडकमा थुप्रिएको लेदो हटाउन गएरातिदेखि नै १५ वटा उपकरण परिचालन गरिएको छ। राति १० बजेपछि वर्षा भएपछि केही समय काम रोकिए पनि बिहीबार बिहानैदेखि उपकरणमार्फत लेदो पन्छाउने काम पुनः सुरु गरिएको हो।
सडक विभागका प्रवक्ता न्यौपानेका अनुसार मुग्लिनदेखि गलौंदीसम्म तथा काठमाडौंँदेखि बैरेनीसम्मको सडकखण्ड भने सञ्चालनयोग्य अवस्थामा रहेको छ।
उनले विशेष परिस्थिति नआए बिहीबार दिउँसोसम्म पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए।
बुधबार भोटेकोसी नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा लेदो थुप्रिनुका साथै सडकमा क्षति पुगेपछि यातायात प्रभावित भएको हो। सडक अवरुद्ध हुँदा काठमाडौं र चितवनतर्फ आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।
सडक खुलेपछि बाढीका कारण प्रभावित भएको राजधानी र पश्चिम नेपालतर्फको यातायात केही सहज हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया