भदौ २१ २०८३, आइतबार

प्रधानमन्त्री बालेनले असोज ८ गते संयुक्त राष्ट्रसंघ महासभामा सम्बोधन गर्ने

काठमाडौं।   प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा आगामी असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै नेपालका प्रधानमन्त्री शाहलाई सेप्टेम्बर २४ अर्थात् असोज ८ गते सम्बोधन गर्ने समय उपलब्ध गराएको हो।

नेपालको प्रस्तावपछि राष्ट्रसंघले संशोधित कार्यतालिका उपलब्ध गराएको र उक्त जानकारी न्युयोर्कस्थित नेपाली नियोगबाट परराष्ट्र मन्त्रालय हुँदै प्रधानमन्त्रीको सचिवालयमा पुगेको बताइएको छ। अब सोही समयअनुसार प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी अघि बढाइएको छ।

संशोधित तालिकाअनुसार सेप्टेम्बर २४ मा दिउँसो ३ बजेदेखि राति ९ बजेसम्म १८ देशका नेताले महासभालाई सम्बोधन गर्नेछन्। सो सूचीमा नेपालका सरकार प्रमुख १७औँ नम्बरमा सम्बोधन गर्ने तालिका रहेको छ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने महासभामा प्रधानमन्त्री शाहले विशेषगरी विश्व तापमान वृद्धि र जलवायु परिवर्तनका कारण नेपालले भोटेकोशीजस्तो विपत्ति भोग्नुपरेको विषय उठाउने तयारी गरेका छन्। उनले जलवायुजन्य विपत्तिबाट नेपालले बेहोर्नुपरेको क्षतिको क्षतिपूर्ति र जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने बताइएको छ।

यसअघि महासभामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले सम्बोधन गर्ने तयारी थियो। तर रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी विपत्तिपछि प्रधानमन्त्री शाह आफैँ महासभामा सहभागी भएर नेपालको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने निर्णयमा पुगेका हुन्।

प्रधानमन्त्री शाहको अमेरिका बसाइ सकेसम्म छोटो बनाउने तयारी भइरहेको बताइएको छ। त्यसैले अन्य देशका नेतासँग हुने द्विपक्षीय ‘साइडलाइन’ भेटवार्ताको टुंगो लागिसकेको छैन।

देश अहिले विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाको चरणमा रहेकाले प्रधानमन्त्री महासभामा सम्बोधन गरी छिट्टै स्वदेश फर्किने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री बनेको करिब पाँच महिनापछि शाहको यो पहिलो विदेश भ्रमण हुनेछ। यद्यपि, यो अमेरिकाको औपचारिक द्विपक्षीय भ्रमण भने होइन। न्युयोर्कमा रहँदा सम्भव भएसम्म अमेरिका, चीन र भारतका प्रतिनिधिसँग भेटवार्ताको प्रयास हुने बताइएको छ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार बेन, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत रहनेछन्। परराष्ट्र मन्त्रालयबाट परराष्ट्र सचिव अमृतबहादुर राईसहित संयुक्त राष्ट्रसंघ हेर्ने महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल र अन्य अधिकारीहरू पनि प्रतिनिधिमण्डलमा सहभागी हुने बताइएको छ।

प्रधानमन्त्री शाह महासभामा सम्बोधन गरी स्वदेश फर्किने तथा अन्य द्विपक्षीय भेटवार्ताको जिम्मेवारी परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा अघि बढाउने तयारी भइरहेको बताइएको छ।


संयक्त राष्ट्रसंघीय महासभामा बालेनले कालो चस्मा लगाउन पाउँछन्?

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको महासभाजस्तो अन्तर्राष्ट्रिय औपचारिक कार्यक्रममा कालो चस्मा लगाउन कानुनी वा औपचारिक प्रतिबन्ध भने छैन। तर कूटनीतिक तथा औपचारिक कार्यक्रममा सम्बोधन गर्दा कालो चस्मा लगाउनु सामान्य अभ्यास भने होइन।

विशेषगरी महासभाको मञ्चमा राष्ट्र तथा सरकार प्रमुखहरूले सम्बोधन गर्ने भएकाले औपचारिक पोशाक र प्रस्तुति शैलीलाई महत्त्व दिइन्छ। त्यसैले प्रधानमन्त्री शाहले कालो चस्मा लगाएर सम्बोधन गरेमा त्यो प्रोटोकल उल्लंघनभन्दा पनि व्यक्तिगत शैली र शिष्टाचारको विषय बन्ने देखिन्छ।

यसपटक प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकाले उनको पोशाकदेखि प्रस्तुति शैलीसम्म पनि चासोको विषय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन २८ २०८३,बिहिबार