पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ।
श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न परमादेश जारी गरेको हो।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ।
वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको अनुसन्धानका क्रममा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले यसअघि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
सर्वोच्चको पछिल्लो आदेशसँगै श्रेष्ठलाई थुनामै राखेर अनुसन्धान गर्ने प्रहरीको बाटो रोकिएको छ। अदालतले भनेअनुसार अब उनलाई हिरासतबाहिर राखी अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्नेछ।
श्रेष्ठको पक्राउपछि पत्रकार तथा सञ्चार क्षेत्रबाट उनको रिहाइको माग हुँदै आएको थियो। सर्वोच्चको आदेशलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर समेत हेरिएको छ।


प्रतिक्रिया