गगन थापा : असोज १६ बाट कांग्रेस महाधिवेशन सुरु हुन्छ, अब कुनै बहाना चल्दैन
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आगामी महाधिवेशन असोज १६ गतेदेखि सुरु हुने र अब मिति कुनै पनि हालतमा परिवर्तन नहुने स्पष्ट पारेका छन्।
सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशनको प्रक्रिया भोलिदेखि नै अघि बढ्ने भन्दै पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिए।
उनले ‘असोज १६ गते किन्तु परन्तु महाधिवेशन सुरु हुन्छ’ भन्दै अब महाधिवेशनको मिति तलमाथि नहुने ठोकुवा गरे। महाधिवेशनको प्रक्रियाबाट कुनै पनि नेता–कार्यकर्ता छुट्न नहुने उल्लेख गर्दै उनले सबैलाई सहभागी हुन आग्रह गरे।
सभापति थापाले पार्टीभित्रको गुटगत भागबण्डाप्रति समेत असन्तुष्टि जनाउँदै अधिवेशनमा ‘विशेष’ र ‘नव–विशेष’ भनेर कसैलाई छुट्याउन नहुने बताए।
उनले महाधिवेशनको प्रक्रिया रोक्ने प्रयास स्वीकार्य नहुने स्पष्ट पार्दै भने, “कसैले पनि अधिवेशनको प्रक्रिया रोक्न पाउनुहुन्न।”
थापाले आगामी महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन आफू आवश्यक सबै विषयमा सहमत हुन तयार रहेको पनि बताए। असन्तुष्ट पक्षलाई लक्षित गर्दै उनले अधिवेशन निष्पक्ष बनाउन आवश्यक विषयमा छलफल गर्न सकिने तर त्यसका लागि सबै पक्ष अधिवेशनमा सहभागी हुनुपर्ने धारणा राखे।
“अधिवेशनका लागि के–के विषय मिलाउँदा यो स्वच्छ र निष्पक्ष हुन्छ, त्यो गर्न म तयार छु। तर, तपाईंहरू अधिवेशनमा आउनुपर्छ,” थापाले भने।
थापाको पछिल्लो अभिव्यक्तिसँगै नेपाली कांग्रेसभित्र लामो समयदेखि चलिरहेको महाधिवेशनसम्बन्धी विवाद थप निर्णायक चरणमा प्रवेश गरेको देखिएको छ।


प्रतिक्रिया