कांग्रेसभित्र एकता र संस्थागत निष्ठामा जोड, गगन नेतृत्वमा पार्टी बलियो बन्ने विश्वप्रकाशको विश्वास
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका मतभेद र चुनौतीका बीच पनि संस्थागत एकता कायम गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले पार्टीलाई बलियो बनाउन एकता, निष्ठा र संस्थागत प्रतिबद्धता आवश्यक रहेको बताएका हुन्।
उनले कांग्रेसको आन्तरिक सुदृढीकरण अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै पार्टीभित्र देखिएका भिन्न मत र प्रतिकूल परिस्थितिलाई संवाद तथा सहकार्यबाट समाधान गर्नुपर्ने धारणा राखे।
शर्माका अनुसार पार्टीभित्र नेता–कार्यकर्ताबीच व्यक्तिगत सम्बन्ध र आपसी निष्ठाको आफ्नै महत्व भए पनि त्यसभन्दा माथि पार्टी संस्था, नीति र सिद्धान्तप्रतिको निष्ठा हुनुपर्छ। व्यक्तिभन्दा संस्था बलियो बनाउने संस्कारले मात्रै कांग्रेसलाई दीर्घकालीन रूपमा सबल बनाउन सक्ने उनको भनाइ थियो।
उपसभापति शर्माले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ता पंक्तिको भावना र दृढतालाई पार्टीको आगामी यात्राको आधार बनाउनुपर्ने बताए।
पार्टीभित्र विभिन्न विषयमा मतभेद देखिनु स्वाभाविक भए पनि त्यसलाई विभाजनको आधार बनाउन नहुने उनको धारणा थियो। बरु फरक विचारलाई संस्थागत रूपमा सम्बोधन गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उनले बताए।
उनले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वप्रति विश्वास व्यक्त गर्दै गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले आगामी दिनमा सबल राष्ट्रिय शक्तिका रूपमा भूमिका निर्वाह गर्ने बताए।
शर्माले पछिल्लो राजनीतिक तथा कानुनी घटनाक्रमको चर्चा गर्दै सर्वोच्च अदालतको फैसलालाई कुनै पक्षको जित वा अर्को पक्षको हारका रूपमा बुझ्न नहुने धारणा राखे।
गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेपछि पार्टीभित्रको परिस्थितिमा संवाद आवश्यक रहेको उनको भनाइ थियो।
अदालतको फैसला आएको ४८ घण्टाभित्रै नेतृत्वले संवादको प्रक्रिया अघि बढाएको जानकारी दिँदै शर्माले पार्टीभित्रको असहमतिलाई संवादकै माध्यमबाट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
कांग्रेसभित्रको पछिल्लो परिस्थिति र आन्तरिक मतभेदका बीच शर्माको अभिव्यक्तिलाई पार्टीलाई संस्थागत रूपमा बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ।
उनले व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा पार्टीको दीर्घकालीन हितलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएका छन्। कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी र बलियो शक्तिका रूपमा स्थापित गर्न संगठनभित्रको एकता पहिलो शर्त भएको उनको निष्कर्ष छ।
प्रतिक्रिया