श्रावण २७ २०८३, बुधवार

सर्वोच्चको ‘निस्सा’पछि कांग्रेसमा नयाँ तरंग, महाधिवेशनका गतिविधि रोक्न शशांकको आग्रह

काठमाडौँ, २६ साउन । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बनेको छ। नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतबाट पुनरावलोकनका लागि ‘निस्सा’ प्राप्त भएको भन्दै पार्टीका महाधिवेशनसम्बन्धी गतिविधि तथा दूरगामी निर्णय तत्काल रोक्न आग्रह गरेका छन्।

कोइरालाले मंगलबार पत्रमार्फत पार्टीको आगामी १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका स्थगित गर्न आग्रह गरेका हुन्।

उनका अनुसार सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट दायर पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतको पूर्ण इजलासले साउन २२ गते ‘निस्सा’ प्रदान गरेको छ। यससँगै यसअघि भएको फैसलामाथि पुनः न्यायिक परीक्षणको प्रक्रिया अघि बढेको उनको दाबी छ।

कोइरालाले अदालतबाट मुद्दाको अन्तिम टुंगो नलागेसम्म पार्टीको तर्फबाट दीर्घकालीन प्रभाव पार्ने राजनीतिक, सांगठनिक, नीतिगत तथा आर्थिक निर्णय नगर्न पनि आग्रह गरेका छन्।

उनले यस्तो आग्रह तत्कालीन महामन्त्री गगनकुमार थापा तथा सम्बन्धित पक्षलाई गरेका हुन्। पत्रको प्रतिलिपि निर्वाचन आयोगमा समेत दर्ता गराइएको जनाइएको छ।

यसैबीच कांग्रेसभित्रको इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेको छ। भेलाका लागि मूल आयोजक समिति तथा विभिन्न उपसमितिसमेत गठन भइसकेका छन्।

May be an image of text

सर्वोच्च अदालतको ‘निस्सा’ र शशांक कोइरालाको पछिल्लो पत्रले कांग्रेसभित्रको नेतृत्व, महाधिवेशन र पार्टीको आगामी राजनीतिक दिशाबारे विवादलाई थप गहिरो बनाएको छ। अब अदालतको अन्तिम निर्णय र पार्टीभित्रको शक्ति समीकरणले कांग्रेसको आगामी सांगठनिक प्रक्रियालाई प्रभावित गर्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार