विरोधपछि हरि ढकालको स्पष्टीकरण : ‘सिंह दया र करुणाको प्रतीक होइन’
काठमाडौं । सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने अभिव्यक्तिको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले आफ्नो भनाइबारे स्पष्टीकरण दिएका छन्।
ढकालले सामाजिक सञ्जालमार्फत आफू आफ्नो तर्कमा अझै अडिग रहेको बताएका छन्। उनले सिंहदरबारको नाम मात्र नभई त्यसको ‘स्वभाव, भाव र भङ्गी’ पनि नामसँग मेल खाने खालको हुन नहुने तर्क गरेका छन्।
आफ्नो भनाइलाई लिएर भइरहेको बहसप्रति व्यंग्य गर्दै ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मृग (हरिण) ले सिंहलाई गरेको अगाध प्रेमको दुर्लभ दृश्य आज सामाजिक सञ्जालमा देखें!!’
ढकालले सिंहदरबार निर्माणका क्रममा श्रमिकमाथि भएको शोषणको इतिहास आफूले अहिले मात्र थाहा पाएको नभई पहिल्यै अध्ययन गरेको बताएका छन्। उनका अनुसार सिंहदरबारको नाम परिवर्तनबारे आफ्नो धारणा अहिलेको राजनीतिक परिवर्तनसँग मात्र सम्बन्धित छैन।
उनले विगतका राजनीतिक परिवर्तनका क्रममा विभिन्न स्थानका नाम परिवर्तन गरिएको उदाहरण दिँदै सिंहदरबारको नाम पनि परिवर्तन गरेर अर्को नाम राख्न सकिने धारणा आफूले व्यक्त गरेको स्पष्ट पारेका छन्।
‘यसपटकको परिवर्तन होइन, पहिले-पहिलेकै परिवर्तनमा कति धेरै ठाउँका नाम परिवर्तन भए । त्यसको पनि परिवर्तन गरेर अरू नै नाम राखिदिएको भए हुने थियो भनेको थिएँ,’ उनले भनेका छन्।
आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिक्रिया जनाउनेमध्ये धेरैले आफूले कार्यक्रमको पूरा भिडियो नहेरेको दाबी पनि ढकालले गरेका छन्। उनले ‘पूरा भिडियो धेरैले हेर्नुभएको छैन’ भन्दै आफ्नो भनाइको सन्दर्भ नबुझी प्रतिक्रिया आएको संकेत गरेका छन्।
ढकालले आफ्नो मूल तर्क दोहोर्याउँदै सिंहलाई दया र करुणाको प्रतीकका रूपमा स्वीकार गर्न नसकिने बताएका छन्।
‘म मेरो तर्कमा अडिग छु– सिंह दया र करुणाको प्रतीक होइन । सिंह हिंस्रककै प्रतीक हो, घमण्डकै प्रतीक हो, शासककै प्रतीक हो!’ उनले लेखेका छन्।
सिंहदरबारको नाम र त्यससँग जोडिएको इतिहास तथा प्रतीकबारे ढकालको अभिव्यक्तिले यसअघि नै राजनीतिक र सामाजिक वृत्तमा बहस सिर्जना गरेको थियो। पछिल्लो स्पष्टीकरणपछि भने यो विषय नाम परिवर्तनको बहससँगै इतिहास, प्रतीक र राज्यसत्ताको चरित्रबारेको बहसका रूपमा समेत अघि बढेको छ।
प्रतिक्रिया