भदौ १० गते संसद्मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
काठमाडौं । प्रतिनिधिसभामा आगामी भदौ १० गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि उक्त दिनको समय निर्धारण गरेका हुन्।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा छुट्याउने व्यवस्था छ।
यसअघि उक्त व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन नभएको भन्दै प्रश्न उठिरहेका बेला सभामुखले प्रश्नोत्तर कार्यक्रमको मिति तोकेका हुन्।
नियमावलीअनुसार प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहने सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि प्रश्नको विषयसहित लिखित जानकारी सभामुखलाई दिनुपर्नेछ। प्राप्त प्रश्न स्वीकार गर्ने वा नगर्ने निर्णय सभामुखले गर्ने व्यवस्था छ।
प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था पनि नियमावलीमा रहेको छ। यस्तै, प्रधानमन्त्रीले दिएको जवाफमाथि प्रतिनिधिसभामा छुट्टै छलफल भने गर्न नपाइने व्यवस्था छ।

प्रतिक्रिया