भदौ ०१ २०८३, सोमबार

पाकिस्तानमा टिकटक स्टार आयशा गिलामानाको गोली हानी हत्या

इस्लामाबाद । पाकिस्तानकी चर्चित टिकटक स्टार शम्सु बिबी उर्फ आयशा गिलामानाको गोली हानी हत्या गरिएको छ। इस्लामाबादनजिकैको ट्याक्सिला क्षेत्रमा अगस्ट १४ मा मोटरसाइकलमा आएका बन्दुकधारीले कारमाथि गोली चलाउँदा उनको मृत्यु भएको हो।

प्रहरीमा दर्ता भएको उजुरीअनुसार आयशा आफ्नी १५ वर्षीया बहिनी असीमा र भाइ नैमतुल्लाहसँग कारमा घरबाट बाहिर निस्किएकी थिइन्। पेट्रोल पम्पनजिकै पुगेपछि मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीहरूको कारमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।

गोली आयशाको घाँटीमा लागेको र घटनास्थलमै उनको मृत्यु भएको उनका बुबा फजल साहिबजादाले बताएका छन्। गोली प्रहारपछि कार अनियन्त्रित भएर अर्को सवारीसाधनसँग ठोक्किँदा उनकी बहिनी असीमा गम्भीर घाइते भएकी छन्।

आयशाका बुबाका अनुसार उनी पछिल्लो ३–४ वर्षदेखि टिकटकमा भिडियो बनाउँदै आएकी थिइन्। सामाजिक सञ्जालमा उनको लोकप्रियता बढ्दै गएको थियो र टिकटकमा उनका १३ लाखभन्दा बढी फलोअर्स रहेको बताइएको छ।

घटनापछि आयशाको हत्याको कारणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।

आयशाका बुबाले छोरीको केही व्यक्तिसँग आर्थिक कारोबार रहेको र रकम फिर्ता मागेपछि उनलाई ज्यान मार्ने धम्की आएको दाबी गरेका छन्।

उनले काउसर, जावेद उर्फ शाहिन तथा काशिफ उर्फ काशीलाई घटनामा संलग्न भएको आशंका गर्दै प्रहरीमा उजुरी दिएका छन्। यद्यपि, उनीहरूको संलग्नता हालसम्म प्रमाणित भइसकेको छैन।

प्रहरीले हत्या, हत्या प्रयास तथा सामूहिक आपराधिक उद्देश्यसम्बन्धी कानुनी प्रावधानअन्तर्गत उजुरीमा नाम उल्लेख भएका व्यक्तिहरू तथा दुई अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार