१५ मिनेट किताब पढ्दा पैसा ! सिंगापुरले सुरु गर्यो नयाँ अभियान
सिंगापुर । सिंगापुरले नागरिकमा नियमित पुस्तक पढ्ने बानी विकास गराउने उद्देश्यले दैनिक कम्तीमा १५ मिनेट पढ्न प्रोत्साहन गर्ने नयाँ राष्ट्रिय अभियान सुरु गरेको छ।
सिंगापुरको National Library Board (NLB) ले ६ सेप्टेम्बर २०२६ देखि पाँच वर्षे ‘ReadSG’ अभियान सुरु गरेको हो। अभियानअन्तर्गत सहभागीले दैनिक १५ मिनेट वा सोभन्दा बढी समय पुस्तक पढेर त्यसको विवरण सरकारी CrowdTask SG प्लेटफर्ममा रेकर्ड गर्न सक्छन्।
पढाइको प्रत्येक योग्य सत्रबापत सहभागीले भर्चुअल सिक्का प्राप्त गर्ने व्यवस्था गरिएको छ। हालको व्यवस्थाअनुसार १५ मिनेटको एक सत्रका लागि २० भर्चुअल सिक्का प्राप्त हुन्छ। १ हजार सिक्का बराबर १ सिंगापुर डलर हुन्छ। अर्थात् ५० दिनसम्म दैनिक एक–एकवटा १५ मिनेटको पढाइ सत्र पूरा गरेपछि १ सिंगापुर डलर बराबरको रकम प्राप्त गर्न सकिन्छ।
एक दिनमा एकवटा पढाइ सत्र मात्रै गणना हुने भएकाले धेरै समय पढ्दैमा सोही अनुपातमा थप सिक्का प्राप्त हुने व्यवस्था छैन। यस योजनाको आर्थिक लाभ निकै सानो भए पनि यसको मुख्य उद्देश्य पैसा कमाउनेभन्दा नियमित पढ्ने बानी विकास गर्नु रहेको सिंगापुरको राष्ट्रिय पुस्तकालय बोर्डले जनाएको छ।
NLB का अनुसार डिजिटल युगमा छोटो र छिटो सामग्री उपभोग गर्ने प्रवृत्ति बढिरहेका बेला लामो समय पढ्ने बानीले ध्यान केन्द्रित गर्ने क्षमता, आलोचनात्मक सोच र कल्पनाशक्ति विकास गर्न सहयोग पुर्याउने उद्देश्यले अभियान ल्याइएको हो।

यो अभियान सिंगापुरका नागरिक तथा स्थायी बासिन्दालाई लक्षित गरिएको छ र सहभागिताका लागि Singpass प्रयोग गर्नुपर्ने व्यवस्था रहेको विवरण सार्वजनिक भएको छ।
यससँगै सिंगापुरले पढाइलाई व्यक्तिगत बानीसँगै सामाजिक अभियानका रूपमा अघि बढाउन ‘Read for Good’ कार्यक्रमसमेत सञ्चालन गरेको छ, जसमा सहभागीको पढाइलाई परोपकारी कामसँग जोडिएको छ।
यसरी हेर्दा सामाजिक सञ्जालमा फैलिएको ‘सिंगापुरमा १५ मिनेट किताब पढेपछि सरकारले पैसा दिन्छ’ भन्ने दाबी आधारहीन होइन। तर १५ मिनेट पढेबापत तत्कालै ठूलो रकम पाइने भने होइन—पढाइको निरन्तरताका आधारमा भर्चुअल सिक्का जम्मा हुन्छ र ५० वटा दैनिक सत्रपछि १ सिंगापुर डलर बराबरको रकम पुग्छ

प्रतिक्रिया