श्रावण २२ २०८३, शुक्रबार

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइने, राष्ट्रिय बाल अधिकार परिषद्को कडा निर्देशन

 

काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयहरूमा विद्यार्थीको कपाल जबर्जस्ती काट्ने, कपाल वा पहिरनका आधारमा सार्वजनिक रूपमा अपमान गर्ने तथा मानसिक पीडा पुग्ने व्यवहार नगर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ।

परिषद्ले सार्वजनिक गरेको विज्ञप्तिअनुसार पछिल्लो समय केही विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काटिएको तथा त्यससँग सम्बन्धित गुनासा र जानकारी प्राप्त भएपछि यस्तो ध्यानाकर्षण गराइएको हो।

परिषद्ले बाल अधिकारसम्बन्धी महासन्धि, नेपालको संविधान तथा बालबालिकासम्बन्धी ऐन, २०७५ ले प्रत्येक बालबालिकाको सम्मान, मर्यादा र संरक्षणको अधिकार सुनिश्चित गरेको स्मरण गराएको छ। कुनै पनि बालबालिकामाथि घर, विद्यालय वा अन्य स्थानमा शारीरिक वा मानसिक दण्ड दिने, अपमानजनक व्यवहार गर्ने वा आत्मसम्मानमा चोट पुग्ने गतिविधि कानुनविपरीत हुने परिषद्को भनाइ छ।

विज्ञप्तिमा शिक्षा नियमावली, २०५९ (संशोधित) अनुसार पनि विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक वा सामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने कुनै पनि गतिविधि विद्यालय परिसर वा कक्षाकोठामा सञ्चालन गर्न नहुने उल्लेख गरिएको छ।

परिषद्ले विद्यालयलाई पोशाक वा सामाजिक मान्यतासम्बन्धी मापदण्ड पालन नगरेको वा शुल्क नतिरेको जस्ता कारण देखाएर विद्यार्थीलाई सार्वजनिक रूपमा अपमान नगर्न विशेष आग्रह गरेको छ। जबर्जस्ती कपाल काट्ने, कपाल तान्ने, शारीरिक बनावट, पहिरन वा श्रृङ्गारका आधारमा होच्याउने, लाञ्छित गर्ने, चरित्रमाथि प्रश्न उठाउने, लामो समय घाममा वा अन्य प्रतिकूल अवस्थामा उभ्याउने जस्ता कार्यले बालबालिकाको आत्मसम्मान, मर्यादा, शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पुग्ने परिषद्को निष्कर्ष छ।

त्यस्ता कुनै पनि गतिविधि नगर्न र बालमैत्री तथा सम्मानजनक शैक्षिक वातावरण कायम गर्न परिषद्ले देशभरका विद्यालय प्रशासन तथा व्यवस्थापन समितिलाई हार्दिक अपिल गरेको छ।

विद्यालयलाई परिषद्को मुख्य आग्रह:

प्रतिक्रिया

सम्बन्धित समाचार