जेष्ठ १७ २०८३, आइतबार

गौरादह बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुखको निधन

Ads

 

गौरादह । गौरादह बहुमुखी क्याम्पसका पुर्व प्रमुख गोपाल प्रसाद काफ्लेको आज बिहान उपचारकै क्रममा काठमाडौमा ८१ वर्षको उमेरमा निधन भएको छ । केहि समय अगाडि देखि ब्रेन सम्बन्धि समस्याले पीडित रहनु भएका काफ्लेको काठमाडौको पेप्सीकोला अस्पतालमा आइतबार बिहान निधन भएको परिवार स्रोतले जनाएको हो ।   अग्रज शिक्षाविद, साहित्यकार तथा समाजसेवी गोपाल प्रसाद काफ्लेको निधनप्रति गौरादह क्षेत्र शोकमग्न बनेको छ। उहाँको निधनसँगै शिक्षा, साहित्य र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । 

Ads


जनता माध्यमिक विद्यालयका पूर्व शिक्षक तथा गौरादह बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख काफ्ले नेपाली भाषा, साहित्य र इतिहासका लोकप्रिय अध्यापकका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले हजारौँ विद्यार्थीलाई शिक्षित बनाउनुका साथै समाजमा सकारात्मक सोच र संस्कार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।
‘अक्षर यात्रा’ कृतिका लेखक तथा दर्जनौँ पुस्तकका सम्पादकसमेत रहनुभएका काफ्ले शिक्षा र साहित्यको क्षेत्रमा मात्र सीमित रहनुभएन, अवकाशपछिसमेत समाजसेवामा सक्रिय रहनुभयो। उहाँ निवृत्त राष्ट्र सेवक समाज नेपालका केन्द्रीय सदस्य, ज्येष्ठ नागरिक सङ्घ गौरादहका संस्थापक तथा काफ्ले बन्धु समाजको वंशावलीका लेखक एवं सम्पादक हुनुहुन्थ्यो।
उहाँको निधनको खबरसँगै पूर्व विद्यार्थी, सहकर्मी, सामाजिक अभियन्ता तथा स्थानीयवासीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। धेरैले उहाँलाई एक असल शिक्षक, मार्गदर्शक र समाजका अभिभावकका रूपमा स्मरण गरेका छन्।
गौरादहको शिक्षा, साहित्य र सामाजिक जीवनमा अमिट छाप छोडेर जानुभएका काफ्लेको महाप्रस्थानले सिङ्गो गौरादह क्षेत्र अभिभावकविहीन बनेको अनुभूति गरिरहेको छ।

स्व. गोपाल प्रसाद काफ्ले प्रति पर्दाफास मिडिया परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार