वैशाख ३१ २०८३, बिहिबार

किन विवादमा तानियो गौरादह खानेपानीको भ्रमण ? वास्तविकता के हो?

Ads


गौरादह खानेपानी उपभोक्ता समितिले गत हप्ता गरेको भ्रमणको विषय विवादित बनेको छ । उनीहरुको भ्रमण उद्देश्यविहिन देखिएको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी हुन थालेको पाइएको हो । भ्रमण गर्दा निश्चित उद्देश्य सहित समितिको हितमा हुनुपर्नेमा नितान्त मनोरञ्जन गर्नकैलागि भ्रमण आयोजना गरिएको सरोकारवालाको आरोप छ । सामाजिक सञ्जालमा धारणा राख्दै खानेपानी उपभोक्ताहरुले भ्रमण गर्नुको कारण र खर्च भएको रकमको हिसाबकिताब तत्काल सार्वजनिक गर्न माग गरेका छन् । यस सम्बन्धमा खासमा भएको के थियोे भन्ने बारेमा हामीले गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष नरेन्द्र कार्की (नरेश) सँग बुझ्ने प्रयास गरेका थियौं । 
तपाईंहरु के उद्देश्यले घुम्न जानुभएको हो?
नरेन्द्र कार्की- तपाईंको प्रश्न अत्यन्तै जायज छ, हाम्रो भ्रमणमा १३ सदस्यीय टोलि थियो ।  गौरादह खानेपानीलाई कसरी अझै प्रभावकारी रूपमा सञ्चालन गर्न र मुलुकका विभिन्न स्थानमा सफलता पूर्वक सञ्चालनमा ल्याइएका खानेपानी आयोजनाहरुको बारेमा अध्ययन गर्नु र त्यहाँ देखिएका प्रणालीलाई हाम्रो ठाउँमा कसरी प्रयोग गरेर गौरादह खानेपानीलाई  अझै राम्रो  बनाउन सकिन्छ भन्ने विषयमा हामी बढी नै केन्द्रित थियौं । 


कुन कुन ठाउँ भ्रमण गर्नुभयो ?
मुख्य रूपमा हामीले पोखराको लेखनाथ खानेपानी, बाराको सिमरा खानेपानी र नवलपुरको खानेपानी वितरण प्रणाली लगायत को अध्ययन गर्यौँ । गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट अध्ययन अवलोकन भ्रमणका निम्ति नेपालकै उत्कृष्ट खानेपानीहरू लेखनाथ खानेपानी कास्की ,प्रगतिनगर खानेपानी नवलपुर र निजगढ खानेपानी बारा सँग भएको भेटघाट मा खानेपानीका व्यवस्थापकीय, प्रशासनिक र प्राविधिक क्षेत्रमा भएका राम्रा अभ्यासहरूका बारेमा जानकारी प्राप्त गर्नुका साथै खानेपानीका क्षेत्रमा रहेका साझा चुनौती तथा समस्याहरूका बारेमा समेत छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेका छौँ ।

Ads

मनोरञ्जनात्मक कार्यमा समय विताउनु भयो भन्ने स्थानीयको आरोप छ नी?
यो नितान्त गलत कुरा हो । साथीहरुले कुरो नबुझेर त्यतिकै टिप्पणी गर्नुभएको छ । म आफू नरेन्द्र कार्की जस्तो व्यक्ति अध्यक्ष रहेको समितिले यति गैर जिम्मेवार कार्य गर्छ भन्ने कसरी सोच्न सक्नु भयो ? हाम्रो भ्रमण नितान्त प्राविधिक भ्रमण थियो ।

तपाईंले नेतृत्व गरेको १३ सदस्यीय भ्रमण टोलिमा वडाअध्यक्ष र पुर्व पदाधिकारीहरु पनि हुनुहुन्थ्यो तर प्राविधिकहरु त कोहि देखिएन भन्छन् नी? 

Ads

वडाध्यक्ष हाम्रो पदेन सदस्य हुनुहुन्छ, जनप्रतिनिधि जाँदा भ्रमणको प्रभावकारिता अझै बढ्ने नै भयो । समितिका पुर्व सचिब स्वयं सल्लाहकार समिति सदस्य हुनुहुन्छ । व्यवस्थापक सहित प्राविधिक कर्मचारीहरु पनि जानू भएकै हो । 

भ्रमणको उपलब्धि कस्तो रह्यो?

Ads

भ्रमणबाट हामीले धेरै कुरा बुझ्ने मौका पायौं । उदाहरणको लागि पोखराको लेखनाथ नगरपालिकालाई लिन सकिन्छ । उक्त खानेपानी समितिले सरकारी बिद्यालयहरुमा ३० युनिट सम्म पानी निशुल्क वितरण गरेको रहेछ तर हामीले अहिलेसम्म ८ युनिट मात्रै निशुल्क वितरण गर्न सकेका छौँ । यस्ता धेरै कुरा छन् । छोटो रूपमा भन्न सकिदैन । हामीले के हेर्यौँ र के बुझ्यौँ भन्ने कुरा समस्त उपभोक्तालाई जानकारी गराउने नै छौँ । 

भ्रमणमा कति खर्च भएको हो ?
यो भ्रमण पहिलोपटक आयोजना गरिएको होईन । अघिल्ला उपभोक्ता समितिले पनि भ्रमण आयोजना गरेकै थिए । भ्रमणको लागि साधारणसभाले २ लाख रुपैयाँ पास गरेको थियो । तर २ लाख पुरै खर्च भएको छैन । म फ़ेरि पनि भन्छु खर्च र उपलब्धि विवरण छिट्टै सार्वजनिक गर्नेछौँ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

No data Available