भदौ ०४ २०८३, बिहिबार

देशभर ९७.४९ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिममा शतप्रतिशत

 

काठमाडौँ । देशभर यस वर्षको धान रोपाइँ करिब सम्पन्न हुने अवस्थामा पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रदेशस्तरीय रोपाइँ अनुगमन प्रतिवेदनअनुसार २०८३ साउन २९ गतेसम्म कुल लक्षित क्षेत्रफलको ९७.४९ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।

सरकारले यस वर्ष देशभर १३ लाख ७० हजार ६२.१३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्ने लक्ष्य राखेकोमा हालसम्म १३ लाख ३५ हजार ६५१.९८ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ।

Notice File

प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशले शतप्रतिशत रोपाइँ सम्पन्न गरेको छ। सो प्रदेशमा लक्षित १ लाख ५४ हजार ९५० हेक्टर क्षेत्रफलमै रोपाइँ सकिएको छ।

त्यस्तै, लुम्बिनी प्रदेशमा ९७.८७ प्रतिशत, बाग्मतीमा ९७.८२ प्रतिशत, कर्णालीमा ९७.७९ प्रतिशत, कोशीमा ९७ प्रतिशत, गण्डकीमा ९६.६८ प्रतिशत र मधेश प्रदेशमा ९६.६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा देशभर धान रोपाइँको प्रगति ९४.६६ प्रतिशत रहेको थियो। यस वर्ष भने सोही अवधिको तुलनामा रोपाइँको प्रगति करिब २.८३ प्रतिशत बिन्दुले बढी देखिएको छ।

प्रदेशगत रूपमा भने मधेश प्रदेशको रोपाइँ प्रगति अघिल्लो वर्षको तुलनामा केही कमजोर देखिएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने रोपाइँको गति तुलनात्मक रूपमा उच्च रहेको छ।

सरकारले बाँकी रहेको क्षेत्रमा पनि रोपाइँको काम छिट्टै सम्पन्न हुने अपेक्षा गरेको छ। समयमै रोपाइँ सम्पन्न हुनुले धान उत्पादन र उत्पादकत्वमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो तथ्याङ्क नेपाल सरकार, कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत कृषि विभाग, हरिहरभवन, ललितपुरले सार्वजनिक गरेको प्रदेशस्तरीय रोपाइँ अनुगमन प्रतिवेदनमा आधारित छ।

May be an image of blueprint and text

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन २८ २०८३,बिहिबार