श्रावण ३१ २०८३, आइतबार

स्थानीय निर्वाचनको तयारीमा रास्वपा, देशभर ‘क्यान्डिडेट क्लब’मार्फत उम्मेदवार खोज्दै

 

काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उम्मेदवार पहिचान र छनोटको प्रक्रिया अघि बढाएको छ। स्थानीय तह निर्वाचनको मिति औपचारिक रूपमा घोषणा भइनसके पनि रास्वपाले भने अहिलेबाटै योग्य र सक्षम उम्मेदवार खोज्न थालेको हो।

रास्वपाले आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’का लागि आवेदन खुला गर्ने जनाएको छ। पार्टीले यसलाई उम्मेदवारी दर्ता गर्ने सामान्य प्रक्रिया मात्र नभई सम्भावित उम्मेदवारको योग्यता, क्षमता, सामाजिक योगदान, नेतृत्व क्षमता, नैतिकता र जनताप्रतिको उत्तरदायित्व परीक्षण गर्ने प्रारम्भिक चरणका रूपमा अघि सारेको छ।

रास्वपाले यसअघि नै स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको छुट्टै रूपरेखा निर्माण गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिसकेको छ। पार्टीका अनुसार उम्मेदवार छनोटलाई पारदर्शी, समावेशी, योग्यतामा आधारित र प्रणालीगत बनाउने उद्देश्यले समिति गठन गरिएको हो।

May be an image of text

रास्वपाले उम्मेदवार बन्न चाहने पार्टी सदस्यका लागि क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीको प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था अघि सारेको छ। उम्मेदवारको व्यक्तिगत पृष्ठभूमि, योग्यता, नेतृत्व क्षमता, सार्वजनिक आचरण तथा स्थानीय मुद्दाबारेको बुझाइलाई समेत मूल्यांकनको आधार बनाउने पार्टीको तयारी छ।

गौरादहमा पनि सुरु भयो उम्मेदवार खोजी

रास्वपाको यो अभियानको प्रभाव स्थानीय तहमा पनि देखिन थालेको छ। झापाको गौरादह नगरपालिकामा रास्वपा कार्यकर्ताले आगामी स्थानीय निर्वाचनका लागि योग्य उम्मेदवार खोज्न सामाजिक सञ्जालमार्फत अभियान अघि बढाएका छन्।

गौरादहमा सार्वजनिक गरिएको आह्वानमा ‘उम्मेदवार मात्र होइन, योग्य उम्मेदवार’ खोज्ने बताइएको छ। पार्टीले चिनजान, पहुँच वा व्यक्तिगत प्रभावभन्दा क्षमता, योगदान, इमानदारी र समाजका लागि काम गर्न सक्ने क्षमतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

गौरादह–४ वडा समितिले समेत वडा अध्यक्ष, वडा सदस्य र महिला सदस्य पदमा उम्मेदवार बन्न इच्छुक पार्टी सदस्य तथा शुभेच्छुकलाई क्यान्डिडेट क्लबमा सहभागी हुन आह्वान गरेको छ।

पुराना दलमाथि दबाब बढ्ने संकेत

२०७९ को स्थानीय तह निर्वाचनमा रास्वपाले स्थानीय चुनावमा सहभागिता जनाएको थिएन। त्यसैले आगामी स्थानीय निर्वाचन रास्वपाका लागि स्थानीय तहमा पहिलोपटक संगठन र जनप्रतिनिधिको आधार निर्माण गर्ने महत्वपूर्ण अवसर बन्ने देखिन्छ। यही कारण पार्टीले अन्य दलभन्दा अगाडि नै उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएको देखिन्छ।

स्थानीय तह निर्वाचन २०७९ को पाँचवर्षे कार्यकाल सकिएपछि २०८४ वैशाखतिर निर्वाचन हुने संवैधानिक चक्र छ। निर्वाचनको औपचारिक मिति घोषणा हुन बाँकी रहे पनि रास्वपाको सक्रियताले स्थानीय चुनावको राजनीतिक तयारी भने सुरु भइसकेको संकेत गरेको छ।

 

दलहरु माथि उम्मेदवार खोजिको दवाब बढाउदै रास्वपा 

गौरादह । स्थानीय तहको निर्वाचनको मिति औपचारिक रूपमा तय भइनसके पनि झापाको गौरादह नगरपालिकामा भने आगामी निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी विस्तारै बढ्न थालेको छ। विभिन्न राजनीतिक दलभित्र सम्भावित उम्मेदवारको चर्चा सुरु हुन थालेसँगै वर्तमान नगर प्रमुख छत्रपति सुवेदीलाई पुनः मैदानमा उतार्ने विषयले पनि स्थानीय राजनीतिमा स्थान पाउन थालेको छ।

पर्दाफास डट कमसँगको अनौपचारिक कुराकानीका क्रममा नगर प्रमुख सुवेदीले पार्टीले आवश्यक ठाने आफू पछि नहट्ने संकेत दिएका थिए। उनको यो अभिव्यक्तिलाई आगामी स्थानीय निर्वाचनमा पुनः उम्मेदवारीको सम्भावनासँग जोडेर हेर्न थालिएको छ।

सुवेदीको कार्यकाललाई लिएर गौरादहमा मिश्रित धारणा रहे पनि विकास निर्माणका दृष्टिले केही महत्वपूर्ण काम अघि बढेको भन्दै उनलाई उपलब्धिमूलक कार्यकाल बनाउने प्रयास गरेका नगर प्रमुखका रूपमा चित्रित गर्नेहरू पनि छन्।

सुवेदीको कार्यकालमा गौरादहमा स्वास्थ्य क्षेत्रमा भएको काममध्ये स्वास्थ्य बिमासहितको नगर अस्पताल सञ्चालनलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिने गरिएको छ।

गौरादह–१ को स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी नगर अस्पतालका रूपमा सञ्चालनमा ल्याइएको छ। अस्पतालको दीर्घकालीन पूर्वाधार विकासका लागि वडा नम्बर १ कै चैतु चोकमा सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ।

स्थानीयस्तरमै स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले अघि बढाइएको नगर अस्पतालको पूर्वाधार निर्माण सम्पन्न भएपछि नगरवासीलाई स्वास्थ्य सेवाका लागि अन्यत्र जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

गौरादह–४ र ५ का स्थानीयवासीलाई नक्सासहितको धनीपूर्जा वितरण गर्ने प्रक्रिया अघि बढाउन भूमिका खेलेको श्रेय पनि नगर प्रमुख सुवेदीलाई दिने गरिएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा सुरु भएको उक्त कार्यक्रम राष्ट्रिय भूमि आयोगको म्याद सकिएपछि रोकिएको अवस्थामा छ। लामो समयदेखि जग्गाको स्वामित्वसम्बन्धी समस्या भोगिरहेका स्थानीयका लागि यो विषय अझै महत्वपूर्ण र संवेदनशील मुद्दाका रूपमा रहेको छ।

गौरादह पछिल्ला वर्षहरूमा शैक्षिक तथा भौतिक पूर्वाधारका क्षेत्रमा विस्तार हुँदै गएको नगरका रूपमा देखिन्छ। तर विकास निर्माणका सबै परियोजनाले अपेक्षित गति लिन नसकेको गुनासो पनि उत्तिकै छ।

विशेषगरी कोहबरा, मिलनचोकलगायतका महत्वपूर्ण सडक आयोजनाको निर्माण बीचमै रोकिएको विषय स्थानीय तहमा चर्चाको विषय बनेको छ। सडक निर्माणमा देखिएको ढिलाइले नगरवासीलाई प्रत्यक्ष असर पारिरहेको छ।

भौतिक पूर्वाधारका क्षेत्रमा केही उल्लेखनीय काम भए पनि नगरको समग्र विकासको गति अझ तीव्र हुनुपर्ने स्थानीयको अपेक्षा छ। विकासका योजना निर्माण गर्ने मात्र नभई ती योजनालाई समयमै सम्पन्न गर्ने क्षमता अबको नेतृत्वका लागि महत्वपूर्ण परीक्षा हुने देखिन्छ।

२०७२ सालपछि नगरपालिका बनेको गौरादह मूलतः कृषि क्षेत्रमा निर्भर स्थानीय तह हो। नगरको ठूलो जनसंख्या कृषि पेसामा आश्रित रहे पनि किसानका आधारभूत समस्या भने अझै पूर्ण रूपमा समाधान हुन सकेका छैनन्।

समयमै मल नपाउने, उत्पादनले उचित बजार नपाउने, कृषि उपजको मूल्यमा स्थिरता नहुनेजस्ता समस्या पटक–पटक उठ्ने गरेका छन्। कृषि उत्पादनलाई बजारसँग जोड्ने, किसानलाई आवश्यक सामग्री समयमै उपलब्ध गराउने र कृषि क्षेत्रलाई व्यवसायीकरण गर्ने चुनौती अबको स्थानीय नेतृत्वसामु पनि रहनेछ।

आगामी निर्वाचनमा नेकपा एमालेबाट सम्भावित उम्मेदवारका रूपमा वर्तमान नगर प्रमुख सुवेदीको नामसँगै वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको नाम पनि स्थानीय राजनीतिक वृत्तमा सुनिन थालेको छ।

यद्यपि पार्टीले उम्मेदवार छनोटको औपचारिक प्रक्रिया अघि नबढाइसकेको अवस्थामा अहिले चर्चामा रहेका नामलाई अन्तिम उम्मेदवारीका रूपमा बुझ्न सकिने अवस्था छैन।

राष्ट्रिय स्वतन्त्र पार्टीभित्र गौरादहको नगर प्रमुख पदका लागि कसलाई अघि सार्ने भन्ने विषयमा स्पष्ट निर्णय भइसकेको छैन। स्थानीय तहमा पुष्प ढकाल र जगत अधिकारीको नाम चर्चामा आए पनि अन्ततः पार्टीको ‘क्यान्डिडेट क्लब’ ले कसलाई सिफारिस गर्छ भन्ने विषय महत्वपूर्ण हुनेछ।

रास्वपाले स्थानीयस्तरमा संगठन विस्तार र उम्मेदवार छनोटलाई कसरी अघि बढाउँछ भन्ने कुराले गौरादहको चुनावी समीकरणमा प्रभाव पार्न सक्ने देखिन्छ।

नेपाली कांग्रेस राष्ट्रिय राजनीतिको आन्तरिक विवाद र नेतृत्वसम्बन्धी विषयमा अल्झिरहेका बेला स्थानीय निर्वाचनतर्फ भने गौरादहमा अहिलेसम्म त्यति सक्रिय देखिएको छैन।

तर कांग्रेस वृत्तमा औपचारिक रूपमा चर्चा नआए पनि वडा नम्बर ९ का पूर्ववडाध्यक्ष सिताराम भट्टराईले नगर प्रमुख पदमा उम्मेदवारी दिने चाहना राखेको बुझिएको छ।

उनको सम्भावित उम्मेदवारीले कांग्रेसभित्रको स्थानीय समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने कुरा भने आगामी दिनमा पार्टीले लिने निर्णयपछि मात्रै स्पष्ट हुनेछ।

स्थानीय तहको निर्वाचनको मिति औपचारिक रूपमा घोषणा भइसकेको छैन। तर २०८४ मा स्थानीय तहको निर्वाचन हुने अपेक्षाका बीच राजनीतिक दल र सम्भावित उम्मेदवारहरूले आफ्नो राजनीतिक आधार बलियो बनाउन खोज्नु अस्वाभाविक होइन।

यद्यपि निर्वाचनको मिति नै तय नभएको अवस्थामा अहिले नै फलानो उम्मेदवार, फलानो आकांक्षी भनेर निष्कर्ष निकाल्नु हतार हुने धारणा राख्नेहरू पनि छन्। पार्टीको निर्णय, स्थानीय राजनीतिक समीकरण र जनमतका आधारमा अन्तिम समयमा उम्मेदवारको तस्वीर परिवर्तन हुन सक्ने सम्भावना उत्तिकै रहन्छ।

तर गौरादहमा विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने, कृषि क्षेत्रका समस्या समाधान गर्नुपर्ने, रोकिएका पूर्वाधार आयोजना अघि बढाउनुपर्ने र नगरको समग्र विकासलाई नयाँ गति दिनुपर्ने जनअपेक्षा भने अहिले नै स्पष्ट देखिन्छ।

त्यसैले आगामी निर्वाचनमा कसले टिकट पाउँछ भन्नेभन्दा पनि गौरादहलाई आगामी पाँच वर्षमा कस्तो नेतृत्व चाहिएको छ भन्ने बहस महत्वपूर्ण बन्ने देखिन्छ।

वर्तमान नगर प्रमुख सुवेदी पुनः दोहोरिन चाहन्छन् वा पार्टीले नयाँ अनुहार अघि सार्छ, एमालेको प्रतिस्पर्धामा अन्य दल कसरी उत्रिन्छन् र स्थानीय जनताले विकासका मुद्दालाई कुन आधारमा मूल्यांकन गर्छन्  । यी सबै प्रश्नको जवाफ आगामी दिनमा खुल्दै जानेछ।

अहिलेका लागि भने गौरादहमा चुनावी माहोलको प्रारम्भिक संकेत देखिन थालेको छ। उम्मेदवारको खोजी सुरु भएसँगै अबको बहस ‘को आउने?’ भन्दा ‘गौरादहलाई कस्तो नेतृत्व चाहिने?’ भन्ने दिशातर्फ मोडिनुपर्ने स्थानीयको अपेक्षा छ।

गौरादहबाट सुरु भएको उम्मेदवार खोजीको चर्चा अब स्थानीय तहमा मात्र सीमित नरहने देखिन्छ। रास्वपाले देशभर नै ‘को चिनजानको हो?’ भन्दा ‘को योग्य हो?’ र ‘कसले पद खोजेको छ?’ भन्दा ‘कसले परिणाम दिन सक्छ?’ भन्ने आधारमा उम्मेदवार छनोट गर्ने सन्देश दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन २८ २०८३,बिहिबार