श्रावण २९ २०८३, शुक्रबार

वर्षाका कारण देशभरका १० सडकखण्ड अवरुद्ध, यात्रामा सतर्क रहन प्रहरीको आग्रह

 

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी तथा सडक भासिँदा प्रमुख राजमार्गसहित कम्तीमा १० सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्मको अवस्थाबारे जानकारी सार्वजनिक गर्दै ती सडकखण्डमा तत्काल सवारी आवागमन प्रभावित भएको जनाएको हो।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ।
त्यस्तै मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ।
इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडकमा हिलो जमेर सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक सडक भने रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो, भोटेकोशी–२ कोदारी र लिपिङका विभिन्न स्थानमा पहिरो तथा सडक भासिँदा सडक अवरुद्ध भएको छ।
त्यसैगरी रसुवाको पासाङ ल्हामु सडकखण्ड अन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुकुम पश्चिमको भेरी करिडोर अन्तर्गत आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा सडक माथिबाट ढुंगा, माटोसहितको लेदो खसेपछि जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ।
रुकुम पूर्वको मध्यपहाडी लोकमार्ग अन्तर्गत भूमे गाउँपालिका–४ काडाबगर र भूमे गाउँपालिका–५ धौलापहिरामा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।
लमजुङमा मध्यपहाडी लोकमार्ग र बेँसीसहर–मनाङ सडकखण्ड पनि अवरुद्ध भएका छन्। मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग तथा बेँसीसहर नगरपालिका–६ खरखरेभीरमा पहिरो आएपछि बेँसीसहर–मनाङ सडक अवरुद्ध भएको हो।
म्याग्दीको बेनी–जोमसोम सडकखण्ड अन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसेरी र अन्नपूर्ण गाउँपालिका–७ महभीरमा लेदोमाटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी धादिङको पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका–६ आठकिल्लामा वर्षाका कारण पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले वर्षायाममा पहिरो तथा बाढीको जोखिम उच्च रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। सडक अवरुद्ध भएका स्थानमा तत्कालै आवागमन खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
सवारी चालक तथा यात्रुले यात्रा अघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्नसमेत प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार