गौरादहमा कर तिर्ने प्रणाली फेरियो, यी कागजात चाहिने
गौरादह । गौरादह नगरपालिकाले राजस्व संकलन प्रणालीलाई नयाँ सफ्टवेयरमा स्थानान्तरण गर्ने भएको छ। नगरपालिकाका शाखा कार्यालय तथा वडा कार्यालयबाट विगतमा आईपीटी प्रणाली/आंशिक सूत्र प्रणालीमार्फत संकलन हुँदै आएको भूमि तथा मालपोत र सम्पत्ति करसम्बन्धी विवरण अब नेपाल सरकारको सूत्र (SUTRA) प्रणालीमा अनिवार्य रूपमा आबद्ध गरिने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार पुरानो प्रणालीको लगत नयाँ सफ्टवेयरमा स्थानान्तरण (Migrate) नहुने भएकाले सेवाग्राहीले आफ्नो विवरण पुनः प्रविष्टि (Entry) गर्नुपर्नेछ।

राजस्व भुक्तानी प्रक्रियालाई सहज र त्रुटिरहित बनाउन सेवाग्राहीलाई आवश्यक कागजातसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन नगरपालिकाले आग्रह गरेको छ।
सम्पत्ति कर तथा भूमि/मालपोत कर तिर्ने सेवाग्राहीले जग्गाधनी प्रमाण पुर्जा, जग्गाधनीको नेपाली नागरिकता प्रमाणपत्र तथा जग्गाधनी वा सम्पर्क व्यक्तिको नाममा रहेको सक्रिय मोबाइल नम्बर ल्याउनुपर्नेछ।
त्यस्तै, व्यवसाय दर्ता तथा नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्रको सक्कल प्रति, सञ्चालकको नागरिकता, अन्य कार्यालयमा दर्ता भएको भए सोको प्रमाणपत्र (PAN/VAT) तथा व्यवसायी वा सम्पर्क व्यक्तिको नाममा रहेको सक्रिय मोबाइल नम्बर आवश्यक पर्ने नगरपालिकाले जनाएको छ।
घरबहाल करका लागि भने घरबहाल सम्झौता पत्र, जग्गाधनी प्रमाण पुर्जा तथा घरधनी र बहालवालाको नागरिकता आवश्यक पर्नेछ।
नगरपालिकाले नयाँ प्रणालीमा विवरण प्रविष्टि गर्दा आवश्यक कागजात साथमा लिएर आउन सेवाग्राहीलाई आग्रह गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीद्वारा जारी सूचनामा राजस्व भुक्तानी प्रक्रियालाई सहज बनाउन सबै सेवाग्राहीलाई सहयोग गरिदिन अनुरोध गरिएको छ।
प्रतिक्रिया