श्रावण २२ २०८३, शुक्रबार

बिनादर्ता पसलमाथि हल्दीबारीको कडाइ, २० भन्दा बढी व्यवसाय अनुगमनमा

हल्दीबारी (झापा) । हल्दीबारी गाउँपालिकाले बजार व्यवस्थापन, उपभोक्ता अधिकारको संरक्षण र व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यले बजार अनुगमन अभियानलाई तीव्र बनाएको छ। अभियानको पहिलो चरणमै बडावारी बजारका अधिकांश व्यवसाय कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन भइरहेको भेटिएपछि गाउँपालिकाले व्यवसायीलाई निश्चित समयसीमाभित्र सबै प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।

गाउँपालिकाको अनुगमन टोलीले हल्दीबारी–४ स्थित बडावारी क्षेत्रका २० भन्दा बढी किराना, हार्डवेयर, कपडा, खाजा घर तथा सैलुनको स्थलगत निरीक्षण गरेको थियो। अनुगमनका क्रममा अधिकांश पसल दर्ताविनै सञ्चालनमा रहेको तथा आवश्यक कानुनी कागजातसमेत नराखिएको पाइएको गाउँपालिकाले जनाएको छ।

प्रशासन शाखा प्रमुख बाबुराम ढकालका अनुसार बजारको अवस्था अपेक्षाभन्दा बढी अव्यवस्थित देखिएको छ। व्यवसाय सञ्चालनका आधारभूत कानुनी प्रक्रिया पूरा नगरी व्यापार भइरहेको तथ्य अनुगमनका क्रममा खुल्न आएको उनले बताए।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले मापदण्डविपरीत सञ्चालन भइरहेका सबै व्यवसायलाई साउन २५ गतेभित्र गाउँपालिकामा दर्ता भई आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको जानकारी दिए। अन्यथा कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने संकेत पनि उनले दिए।

अनुगमन टोलीले व्यवसायीलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, पसलमा होल्डिङ बोर्ड टाँस्न, बिल तथा रसिद प्रयोग गर्न र सम्बन्धित सबै कानुनी कागजात तोकिएको समयभित्र गाउँपालिकामा पेस गर्न निर्देशन दिएको छ।

गाउँपालिकाले बडावारीबाट सुरु भएको अभियानलाई पालिकाभित्रका अन्य व्यापारिक केन्द्रमा पनि विस्तार गर्ने जनाएको छ। अब गोलधाप, कञ्चनश्री, पाराखोपी र लक्ष्मी स्कुलचोक बजारका पसलहरूको पनि क्रमिक रूपमा अनुगमन गरिनेछ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको नेतृत्वमा सम्पन्न अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, विभिन्न शाखाका प्रमुख, सुरक्षाकर्मी, स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

स्थानीय तहले पछिल्लो समय बजार अनुगमनलाई प्रभावकारी बनाउँदै व्यवसाय दर्ता, उपभोक्ता अधिकारको संरक्षण र कर प्रणालीलाई व्यवस्थित गर्ने अभियानलाई प्राथमिकता दिएको छ। हल्दीबारी गाउँपालिकाको यो अभियानले व्यवसायलाई कानुनी दायरामा ल्याउनुका साथै उपभोक्ताले गुणस्तरीय र पारदर्शी सेवा पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार