श्रावण २२ २०८३, शुक्रबार

अमेरिकी नागरिकताको ढोका साँघुरो बनाउँदै ट्रम्प, जन्मसिद्ध अधिकार फेरि निशानामा

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको दायरा थप सीमित गर्ने उद्देश्यसहित दुई नयाँ कार्यकारी आदेश जारी गरेका छन्। अमेरिकी संविधानको १४औँ संशोधनले सुनिश्चित गरेको जन्मसिद्ध नागरिकताको व्यवस्थामाथि दोस्रो कार्यकाल सुरु भएयता ट्रम्पले फेरि एकपटक हस्तक्षेप गर्ने प्रयास गरेका हुन्।

केही साताअघि मात्र अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनको अघिल्लो आदेश कार्यान्वयनमा रोक लगाएको थियो। त्यसपछि आएको नयाँ आदेशलाई सर्वोच्च अदालतको निर्णयलाई कानुनी रूपमा छल्ने अर्को रणनीतिक प्रयासका रूपमा हेरिएको छ।

ओभल अफिसमा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, "यो धेरै वर्षअघि नै हुनुपर्ने थियो। अहिले हामी त्यसलाई कार्यान्वयन गर्दैछौँ।" उनले सर्वोच्च अदालतले आफ्नो अघिल्लो प्रयास अस्वीकार गरेकोप्रति असन्तुष्टि पनि व्यक्त गरे।

नयाँ आदेशअनुसार, दुवै अभिभावक अमेरिकी नागरिक नभएको अवस्थामा केही विशेष परिस्थितिमा अमेरिकामा जन्मिएका शिशुले स्वतः अमेरिकी नागरिकता पाउने छैनन्।

त्यसमा अभिभावकमध्ये कुनै एक विदेशी आतंकवादी समूहसँग आबद्ध भएको, विदेशी सरकारको कर्मचारी भएको, ठगी वा जालसाजीमार्फत अमेरिकी नागरिकता लिन खोजेको वा संघीय कानुनअनुसार जन्मसिद्ध नागरिकता लागू नहुने अमेरिकी भूभागमा बसोबास गरिरहेको अवस्था समावेश गरिएको छ।

यसअघि यस्ता सीमित अवस्थाहरू कानुनमा स्पष्ट रूपमा उल्लेख थिएनन्। ट्रम्प प्रशासनले ती अवस्थालाई विस्तार गर्दै जन्मसिद्ध नागरिकताको दायरालाई थप साँघुरो बनाउने प्रयास गरेको हो।

ट्रम्पले जारी गरेको दोस्रो आदेशले 'बर्थ टुरिज्म' अर्थात् बच्चालाई अमेरिकी नागरिक बनाउनकै उद्देश्यले गर्भवती महिलाहरू पर्यटकका रूपमा अमेरिका आउने अभ्यासलाई रोक्ने लक्ष्य राखेको छ।

ट्रम्प प्रशासनको दाबीअनुसार केही विदेशी नागरिकले पर्यटक भिसाको दुरुपयोग गर्दै अमेरिका पुगेर बच्चा जन्माउने र त्यसमार्फत अमेरिकी नागरिकताको सुविधा लिने गरेका छन्।

ह्वाइट हाउसका उपप्रमुख तथा होमल्यान्ड सुरक्षा सल्लाहकार स्टीफन मिलरले धेरै मानिस वास्तविक उद्देश्य लुकाएर पर्यटकका रूपमा अमेरिका प्रवेश गर्ने र पछि बच्चाले अमेरिकी नागरिकका रूपमा सामाजिक सुविधा, कानुनी अधिकार तथा भविष्यमा मतदान अधिकारसमेत प्राप्त गर्ने भएकाले यस्तो अभ्यास नियन्त्रण गर्न आवश्यक भएको बताएका छन्।

ट्रम्प प्रशासनले विशेषगरी रुस र चीनजस्ता देशका नागरिकले जन्मसिद्ध नागरिकताको व्यवस्थाको दुरुपयोग गरिरहेको आरोप दोहोर्याउँदै आएको छ। ट्रम्पले हरेक वर्ष लाखौँ बच्चा यस्तो प्रक्रियाबाट जन्मिने दाबी गरेका छन्, यद्यपि त्यस दाबीलाई पुष्टि गर्ने आधिकारिक तथ्यांक सार्वजनिक गरिएको छैन।

ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेलगत्तै जन्मसिद्ध नागरिकता अन्त्य गर्ने कार्यकारी आदेश जारी गरेका थिए। तर अमेरिकी सर्वोच्च अदालतले त्यसलाई कार्यान्वयन गर्न नदिएपछि प्रशासनले नयाँ कानुनी आधार तयार गर्दै अर्को आदेश ल्याएको हो।

संवैधानिक विज्ञहरूका अनुसार अमेरिकी संविधानको १४औँ संशोधनले जन्मसिद्ध नागरिकताको स्पष्ट ग्यारेन्टी गरेको हुँदा ट्रम्पका नयाँ आदेशहरू पनि अदालतमा चुनौती सामना गर्ने सम्भावना बलियो छ।

यदि यी आदेशविरुद्ध फेरि कानुनी लडाइँ सुरु भयो भने, अमेरिकी अध्यागमन नीति र नागरिकताको संवैधानिक व्याख्याबारे अर्को ठूलो बहस चर्किने निश्चित देखिन्छ।

May be an image of map and text

प्रतिक्रिया

सम्बन्धित समाचार