अतिराष्ट्रवाद होइन, विकास केन्द्रित नेपाल–भारत सम्बन्ध चाहन्छौं : रवि लामिछाने
काठमाडौं, जेठ १९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई अतिराष्ट्रवादी भाषणभन्दा माथि उठाएर विकास, व्यापार, प्रविधि र जनस्तरको समृद्धिमा केन्द्रित गर्नुपर्ने बताएका छन्।
भारत भ्रमणका क्रममा भारतीय दैनिक हिन्दुस्तान टाइम्स मा प्रकाशित लेखमार्फत लामिछानेले परम्परागत राजनीतिज्ञहरूले प्रयोग गर्दै आएको अतिराष्ट्रवादी भाषाले समस्या समाधान नगर्ने उल्लेख गरेका छन्।
“हामी परम्परागत राजनीतिज्ञहरूले प्रयोग गर्ने अतिराष्ट्रवादी भाषा मन पराउँदैनौं। हाम्रो विकल्प प्रमाणमा आधारित संवाद र चुनावी स्वार्थबाट मुक्त व्यवहारिक दृष्टिकोण हो,” उनले लेखेका छन्।
उनका अनुसार रास्वपाले नेपाल–भारत कूटनीतिलाई भू–राजनीतिक तनावबाट मुक्त गर्दै विकास केन्द्रित साझेदारीमा रूपान्तरण गर्न चाहन्छ। विगतका राजनीतिक कटुता र गोप्य समझदारीको बोझबाट मुक्त भएर नयाँ पुस्ताले दुवै देशबीचको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउनुपर्ने उनको धारणा छ।
रेलमार्गदेखि डिजिटल करिडोरसम्मका प्रस्ताव
लामिछानेले नेपाल र भारतबीचको आर्थिक सहकार्य विस्तार गर्न विभिन्न ठोस प्रस्ताव अघि सारेका छन्। उनले प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्ग निर्माणलाई प्राथमिकतामा राख्दै यसले व्यापार, पर्यटन, ढुवानी र क्षेत्रीय सम्पर्कमा ऐतिहासिक परिवर्तन ल्याउने बताएका छन्।
त्यसैगरी, पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई तथा बेंगलुरुजस्ता भारतीय शहरमा सिधा हवाई सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
सूचना प्रविधिको क्षेत्रमा भारतको अनुभवबाट लाभ लिनुपर्ने उल्लेख गर्दै उनले काठमाडौं–बेंगलुरु डिजिटल करिडोर को अवधारणा अघि सारेका छन्। नेपालका युवाशक्ति, स्वच्छ ऊर्जा र डिजिटल पूर्वाधारलाई भारतको विकसित प्रविधि क्षेत्रसँग जोड्न सके ठूलो आर्थिक परिवर्तन सम्भव हुने उनको विश्वास छ।
सीमा क्षेत्रमा मल कारखाना र ऊर्जा साझेदारी
लामिछानेले नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त रूपमा रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने प्रस्ताव पनि गरेका छन्। साथै, भारतका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्थानहरूको मोडल नेपालमा विस्तार गर्न सकिने उल्लेख गरेका छन्।
उनले नेपालको जलविद्युत् भारतको बढ्दो औद्योगिक आवश्यकताको महत्वपूर्ण स्रोत बन्न सक्ने बताउँदै दुवै देशबीच एकीकृत ऊर्जा बजार निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
डिजिटल भुक्तानी, फिनटेक र सीमापार साना व्यवसाय प्रवर्द्धनमा सहकार्य गर्नुपर्ने सुझाव दिँदै उनले सीमामा डिजिटल एकीकृत जाँच चौकी र आधुनिक यातायात पूर्वाधार निर्माण आवश्यक रहेको बताएका छन्।
पर्यटन र खेलकुदमा पनि सहकार्य
पर्यटन क्षेत्रमा नेपाल र भारत एकअर्काका पूरक रहेको उल्लेख गर्दै लामिछानेले साझा सांस्कृतिक तथा धार्मिक सम्पदालाई जोड्ने पर्यटन मार्ग विकास गर्नुपर्ने बताएका छन्।
त्यसैगरी, नेपाली खेलाडी तथा खेल पूर्वाधारलाई भारतीय प्रिमियर लिग (आईपीएल) जस्ता व्यावसायिक खेल संरचनासँग जोड्ने सम्भावनाबारे पनि गम्भीर रूपमा सोच्नुपर्ने उनको धारणा छ।
विश्वास नै सम्बन्धको आधार
नेपाल–भारत सम्बन्धका जटिल विषयहरूलाई बेवास्ता गरेर साँचो मित्रता सम्भव नहुने उल्लेख गर्दै लामिछानेले दुवै देशबीच विश्वासको वातावरण अझ बलियो बनाउनुपर्ने बताएका छन्।
“मुख्य समस्याहरूलाई दबाएर होइन, खुला संवादमार्फत समाधान खोज्नुपर्छ। यसको सबैभन्दा महत्वपूर्ण आधार विश्वास हो,” उनले लेखेका छन्।

प्रतिक्रिया